एलआइसी इण्डियाले पायो सेबीबाट आईपीओ जारी गर्ने अनुमति

0
Shares

भारत जीवन बीमा निगम (एलआइसी) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न भारतीय धितो र विनिमय बोर्ड (सेबी) बाट अनुमति पाएको छ ।

आईपीओ जारी गर्न निगमले फेब्रुअरी महिनामा धितोपत्र बोर्डमा कम्पनी सम्बन्धित ड्राफ्ट कागजात बुझाएको थियो । कागजात बुझाएको २२ दिनपछि सेबीले आईपीओ जारी गर्न स्वीकृति दिएको हो ।

पूर्ण सरकारी स्वामित्वमा रहेको बेहेमथ एलआइसीले ६ खर्ब भारु बराबरको आईपीओ जारी गर्ने भएको छ । जसमध्ये ३१ करोड ६२ लाख ४९ हजार ८८५ कित्ता ‘अफर फर सेल’ को लागि राखिने भएको छ ।

जारी गरिएको कुल सेयरको ५० प्रतिशत सेयर योग्य संस्थागत खरिदकर्ताको लागि रिजर्भ गरिने छ भने १५ प्रतिशत सेयर गैर–संस्थागत खरिदकर्ताहरुलाई दिइने छ । बाँकी ३५ प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने कम्पनीले जनाएको छ । जारी गरिएको आईपीओमा कर्मचारी र बीमितको लागि पनि आरक्षण मार्फत सेयर दिइने बताइएको छ ।

यो आईपीओ विश्वव्यापी रुपमै अहिलेसम्मको तेस्रो ठूलो आईपीओ रहेको छ । यसअघि साउदीको तेल उत्पादक कम्पनी अरामको र चिनियाँ इ–कमर्स प्लेटफर्म कम्पनी अलिबाबाले योभन्दा ठूलो सेयर जारी गरेका थिए । आरामकोले २५.६ बिलियन डलर बराबरको ३ अर्ब कित्ता र अलिबाबाले २५ बिलियन रुपैयाँ बराबरको ३६ करोड ८१ लख कित्ता सेयर बिक्री गरेको थियो ।

आईपीओ निष्काशनपछि भारतीय बजारमा भारत जीवन बीमा निगमको हिस्सा कुल बीमा कम्पनीहरुको सेयर मध्ये ६६ प्रतिशत हुनेछ ।
यसअघि निगमको भ्यालुएसन र कोभिड–१९ को तेस्रो लहरका कारण आईपीओ जारी गर्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।

आर्थिक वर्ष २०२१/२२ को अन्तिम त्रैमासमा जारी गर्ने भनिएको आईपीओ रुस–युक्रेनबीच बढ्दै गएको युद्धका कारण आ.व २०२२/२३ को पहिलो त्रैमासमा जारी हुनसक्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७८, बुधबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।