
वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले मर्जर सम्झौताको ७ महिनापछि एकीकृत कारोबार थाल्ने भएका छन् ।
गत भदौ १५ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेका दुई लघुवित्तले चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
यसअघि दुबै कम्पनीको गत पुस १६ गते सम्पन्न साधारण सभाले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । दुई लघुवित्तबीच एक बराबर एक सेयर स्वाप रेसियोमा अनुपातमा मर्जर सम्पन्न भएको हो ।
सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय हाल वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको वागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १३, साँगामा रहने छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ ।
लघुवित्तबीच मर्जर सम्पन्न गर्न संयुक्त मर्जर कमिटी गठन भएको थियो । संयुक्त मर्जर कमिटीमा वोमी लघुवित्तको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र र सूर्योदय लघुवित्तको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एक बहादुर गोदार सदस्य रहेका थिए ।
वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले मर्जपछि दोस्रो बजारमा कारोबार खुला गर्नका लागि एक दुई दिनभित्रै आवश्यक कागजात नियामक निकाय धितोपत्र बोर्डमा पेश गर्ने तयारी रहेको नोटबजारलाई बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया