दुई वाणिज्य बैंक र एक लघुवित्तको २ करोड ५९ लाख कित्ता बोनस सूचीकृत

0
Shares

दुई वाणिज्य बैंक र एक लघुवित्तको २ करोड ५९ लाख ८५ हजार ६५८ कित्ता बोनस आज (चैत ६ गते आइतबार) नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा एनएमबि बैंक, एभरेष्ट बैंक र गणपति लघुवित्त वित्तीय संस्था गरी कुल तीन कम्पनीको बोनस सेयर सूचकिृत भएको हो ।

स्टकका अनुसार एनएमबि बैंक (NMB) को चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले हुन आउने २ करोड ४ लाख ७ हजार ४५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । एनएमबि बैंक लिमिटेडले पुस २२ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न २६ औं वार्षिक साधारण सभाका लागि पुस ७ गते बुधबार बुकक्लोज गरेकोथियो । बुकक्लोज अनुसार पुस ६ गते, मंगलबारसम्म कायम बैंकका सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

यस्तै आजै एभरेष्ट बैंक (EBL) को चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ५३ लाख ३६ हजार २३० कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । एभरेष्ट बैंक लिमिटेडको पुस १ गते केन्द्रीय कार्यालय, लाजिम्पाटमा सम्पन्न २७ औं वार्षिक साधारण सभाका लागि बैंकले मंसिर १७ गते शुक्रबार बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार मंसिर १६ गते, बिहीबारसम्म कायम बैंकका सेयरधनीले मात्रै लाभांश पाउनेछन् । 

आइतबारै गणपति लघुवित्त (GMFBS) को चुक्ता पूँजीको १९ प्रतिशतका दरले २ लाख ४१ हजार ९७७ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौंडा, तनहुँमा सम्पन्न पाँचौं वार्षिक साधारणका लागि पुस ७ गते, बुधबार बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस ६ गते, मंगलबारसम्म कायम बैंकका सेयरधनीले मात्रै लाभांश पाउनेछन् । 

आइतबार सूचीकृत भएका तीनवटै कम्पनीको बोनस सेयर सम्बन्धीत कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताहरुले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

दुई विकास ऋणपत्र पनि सूचीकृत

यस्तै आज नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको दुईवटा विकास ऋणपत्र पनि नेप्सेमा सूचीकृत भएको छ ।

राष्ट्र बैंकद्धारा निष्काशन भएको ४ वर्षे अवधिको ५.९६ प्रतिशत ब्याजदर रहेको १५ अर्ब रुपैयाँको २०८२ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको हो । यस ऋणपत्र फागनु ४ गते निष्काशन भएको थियो । यसको साँवा भुक्तानी २०८२ साल फागुन ४ गते हुनेछ ।

त्यस्तै, अर्को सूचीकृत विकास ऋणपत्र २०८३ ‘च’ रहेको छ । १० अर्ब रुपैयाँको ५ वर्षे अवधि तथा ६।९३ प्रतिशत ब्याजदर रहेको छ । यो ऋणपत्र फागुन ९ गते निष्काशन भएर २०८३ साल फागुन ९ गते समाप्त हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।