
पछिल्ला दिनहरुमा नेप्से घट्ने क्रमले निरन्तरता पाएपछि सेयर बजारमा रौनक हराएको छ । नेप्से क्रमश: आरालो बाटोतर्फ लाग्दै गर्दा दिनानुदिन कारोबार रकम पनि घट्दै जान थालेको छ ।
सेयर बजारको ओरालो यात्राले सूचकमा ह्रास आउँदा कारोबारमा समेत खडेरी लागेको हो । यसअघि २ दिनमा १५३ अंकले बाउन्स ब्याक भएर बढेको बजारमा कारोबारीले नाफा सुरक्षित गर्ने क्रम बढाएपछि पछिल्ला चार कारोबार दिनमा नेप्से करिब ७२ अंक घटेको हो ।
यससँगै नेप्से सूचक फेरि २६ सय बिन्दु नजिक झरेको छ । यसअघि २ हजार ५०० बिन्दुमुनी झरेर नेप्से उकालो लागेको थियो । ब्याजदर र तरलता अभावको चपेटामा सेयर बजार फसेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १४.६७ अंकले आरालो लागेर २६१६.५८ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०१ अंकले घटेर ४९४.३८ बिन्दुमा झरेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लगानी समूह बोहक बाँकी सबै उपसमूहगत सूचक घटेको छ । बैंकिङ ८.०३, व्यापार ४१,९४ होटल तथा पर्यटन ६३.८४, विकास बैंक ५३.५१, जलविद्युत् १३.०६, वित्त २५.७३, निर्जीवन बीमा ७४.२६, उत्पादन ६८.५९, अन्य ३२.३, लघुवित्त ५.४१, जीवन बीमा १९७.०९, सामूहिक लगानी कोष ०.१३ अङ्कले ओरालो लागेका छन भने लगानी १.४४ अङ्कले बढेको छ ।
आज कारोबार पनि सवा २ अर्बमा संकुचित बनेको छ । आज दिनभरमा २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर ३५ हजार २१२ पटक किनबेच हुँदा कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँमा समेटिएको हो ।

गत आवको नाफाबाट १४ प्रतिशत बोनस सुरक्षित गर्ने अन्तिम दिन रहेको नेपाल लाइफको आज उच्च कारोबार भएको छ । १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार सहित नेपाल लाइफ अग्रस्थानमा रहेको छ ।
यस्तै जीवन विकास लघुवित्तको १३.४२ करोडको सेयर कारोबारमा आउँदा यस्तै दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ८ करोड ८२ लाख ४८ हजार, अपि पावर कम्पनी ८ करोड ६७ लाख ४४ हजार र नेपाल बैंक लिमिटेडको ५ करोड ९७ लाख नौ हजार ६०१ बराबरको कारोबार भएकाे छ । निफ्रा, नेपाल पुनर्बीमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, शिवम् सिमेन्टस्, र सगरमाथा इन्स्योरेन्स कम्पनी शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।
यस्तै आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको सेयमूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५.९० रूपैयाँ पुगेको छ ।
यसैगरी इमर्जिङ नेपालको ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५१९.८० रूपैयाँ पुगेको छ । निफ्रा र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४ प्रतिशतले बढेको बजारमा जीवन विकास, नारायणी डेभलपमेन्ट बैंक लगायतको सेयरमूल्य पनि सामान्य बढेको छ ।
यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको सेयरमूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले घटेको छ । कम्पनीको संस्थापक सेयरमूल्य घटेर १५ हजार ९७२ रूपैयाँमा झरेको हो । आइतबार सर्वाधिक गुमाउने अन्य कम्पनीहरुमा मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ३.७६ प्रतिशत, शिव श्री हाइड्रोपावरकाले ३.३१, प्रभु लाइफ इन्स्योरेन्स ३.२९, एभरेस्ट इन्स्योरेन्स ३.२५ प्रतिशत र विशाल बजार कम्पनीका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया