जलवायु परिवर्तनका जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न नेपाल इच्छुक

0
Shares


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्ने चाहना ब्यक्त गरेकी छिन् ।

नर्वेका राजदूत टोरुन ड्रम्डालसँग मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपालका मनाङ्, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमुना काम हुने बताइन् । जलवायु परिवर्तनका कारण नेपालले नयाँनयाँ चुनौती झेल्नु परेको उनको भनाई छ ।

ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वे गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरिन् ।

मन्त्री भुसालले आफूले मन्त्रालय संहालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागि परेको तथा सबस्टेशन र प्रशारणलाइन निर्माणलाई विशेष जोड दिएको बताइन् ।

त्यस अवसरमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने बताइन् । उनले जलविद्युत्को क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै ९ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी गराइन् । राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गरेकी थिइन् ।

उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचार विमर्श भयो । सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ चैत्र २०७८, बुधबार  १४ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।