एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

0
Shares


शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत शहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन । उनले एकीकृत शहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताइन्।

विहिवार मन्त्रालयमा आयोजित सघन शहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन । उनले भनिन, एकीकृत शहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत् यस बर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं ।’

उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको जानकारी दिइन ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले शहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताए । मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले शहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताल लगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए ।

उनले भने, मन्त्रालयले शहरीकरणमा थुप्र्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा शहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।’ कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० चैत्र २०७८, बिहिबार  १४ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।