लगातार पाँच दिन घटेपछि छैटौं दिनमा नेप्सेले समात्यो लय, ४ कम्पनीको सेयरमूल्यमा सर्किट

0
Shares

लगातार पाँच कारोबार दिनमा १२३ अंक घटेपछि साताको चौथो कारोबार दिन बुधबार आएर सेयर बजार मापक सूचक नेप्सेले लय समातेको छ । चैत ९ गतेदेखि आरालो यात्रामा रहेको नेप्सेमा बुधबार एकैदिन ४०.६८ अंकको सुधार आएको हो ।

बुधबार नेप्से सूचक ४०.६८ अंकले बढेर २५६८.२६ बिन्दुमा पुगेको छ भने ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अंकले बढेर ४८०.०६ अंकमा पुगेको छ । यस दिन कारोबारमा आएका २३२ मध्ये १९९ कम्पनीको सेयरमूल्य बढेको छ भने २४ वटा कम्पनीको घटेको छ । ९ कम्पनीको सेयरमूल्य स्थीर भयो अर्थात कुनै परिवर्तन भएन ।

कारोबारमा आएको सबै उपसमुहगत सूचक उकालो लागेसँगै कारोबार रकममा समेत सुधार आएको छ । मंगलबार १ अर्ब ७५ करोडको सेयर कारोबार भएको बजारमा बुधबार कारोबार रकम ५० करोडले वृद्धि हुँदै २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ । यसदिन २३२ कम्पनीका ४५ लाख २ हजार ५११ कित्ता सेयर ३६ हजार ८११ वटा संख्यामा खरीद बिक्री भएको हो ।

आज कारोबारमा आएकामध्ये सबैभन्दा बढी अन्य उपसमुहगत सूचक ४.१२ प्रतिशतले उकालो लाग्दा विकास बैंक र फाइनान्स पनि ३ प्रतिशत धेरैले वृद्धि भएको छ । लगानी, जलविद्युत र होटल २ प्रतिशत बढी र बैंकिङ्ग र ब्यापार एक प्रतिशत कम बढ्दा बाँकी सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबारमा आएकामध्ये इमर्जिङ्ग नेपाल लिमिटेड, राष्ट्र उत्थान, नेष्डो समृद्ध लघुवित्त र सामलिङ्ग पावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेर बढेकामध्ये इमर्जीङ नेपाल, राष्ट्र उत्थान र नेष्डो समृद्ध लघुवित्त हालै मात्र नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको हो ।

यस्तै युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर, तेह्रथुम पावर, सिन्धु विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सेयरमूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ को मूल्य २ प्रतिशतले घट्दा युनिलिभर नेपाल लिमिटेड १.९५ प्रतिशत, कुमारी इक्वीटी फण्ड, सिटिजन्स बैंक, र ग्रीनलाइफ हाइड्रोपावर लगायतको सेयरमूल्य १ प्रतिशत अधिक घटेको छ ।

बुधबार सिद्धार्थ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै ११ करोड २७ लाख रुपैयाँ बराबरको कारोबारमा आएको छ । प्रभु इन्स्योरेन्स संस्थापक १०.९२ करोड तथा नबिल बैंक १०.०९ करोडको कारोबार भयो ।

नेपाल टेलिकम, शिवम् सिमेन्टस्, नेपाल लाइफ, अरुण भ्याली हाइड्रोपावर, एनआईडिसीएल, हिमालयन डिष्टिलरी र अपि पावर शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । बुधबार नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ८३ लाख, शिवम् सिमेन्टको ६ करोड १९ लाख र नेपाल लाइफको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।