साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक (NCCB) ले २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

बैंकका विद्यमान ६ जना संस्थापक सेयरधनीहरुले आफुसँग रहेको सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बैंकले संस्थापक सेयर बिक्रीको सार्वजनिक सूचना जारी गरेको हो ।

बैंकका अनुसार नेपाल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको नाममा रहेको १९ लाख २२ हजार २७० कित्ता, निश्चल प्रधान ७ लाख ११ हजार ८६६ कित्ता, लक्ष्मी ढकाल १५ हजार ८७० कित्ता, अर्जुन महर्जन ७ हजार ६२६ कित्ता, श्रवणकुमार अग्रवाल ४ हजार कित्ता र विनिता बज्राचार्यको नाममा रहेको १ हजार ४३४ कित्ता संस्थापक सेयर रहेको छ ।

हाल बिक्रीमा राखिएको उक्त सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सूचना प्रकाशित भएको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीलाई बैंकको काठमाण्डौको बागबजारस्थित कार्यालयको सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन पेस गर्नसक्ने सूचनामा उल्लेख छ ।

तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य सर्वसाधारणलाई दोस्रो चरणमा बिक्री गर्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम पहिलो चरणमा सम्बन्धीत संस्थाका संस्थापक सेयरधनीलाई प्राथमिकतामा दिनुपर्ने हुन्छ । उक्त समयमा सबै सेयर बिक्री नभए वा खरीदका लागि माग नभए दोस्रो चरणमा अन्य खरिदकर्ताहरुका सेयर प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।