
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकम प्रबन्ध निर्देशकको रूपमा पौडेललाई नियुक्त गरेको हो ।
पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । पौडेल २०७५ साउनमा केन्द्रको कार्यकारी निर्देशक भएर गएका थिए । उनी कार्यकाल पूरा नगरी टेलिकमको एमडी बनेका हुन् । टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट उनी प्रबन्ध निर्देशक नियुक्त भएका हुन् ।
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सूचना तथा प्रसारण मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले पौडेल सहित टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडी अर्याल सहित तीन जनालाई सिफारिस गरेको थियो ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गर्ने प्रक्रियामा नियम, पद्धति र निर्देशिका परिवर्तन गरी प्रबन्ध निर्देशक बनाउन लागिएको भन्दै कर्मचारीहरू आन्दोलन गरिरहेका थिए । कर्मचारीको बिरोध बीच पौडेल एमडीमा नियुक्त भएका हुन् । टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलन गरिरहेका थिए ।
यसअघिका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल गत पुसमा समाप्त भएदेखि टेलिकम नेतृत्वविहीन थियो । प्रबन्ध निर्देशकका लागि आवेदन माग गर्दै मंसिर २२ गते सूचना प्रकाशित गरेको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदका लागि ९ जनाले आवेदन दिएका थिए । समितिले इच्छुकबाट आवेदन माग गरेकोमा ९ जना अन्तर्वार्ताका लागि छानिएका थिए । चैत २२ र २३ गते भएको अन्तर्वार्ताबाट तीन जनालाई सिफारिस गरेको थियो।
प्रबन्ध निर्देशकमा पौडेल, आचार्य, पहाडी सहित खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवं इन्जिनियर अर्जुनबाबु ढकाल, टेलिकमकै पूर्वकर्मचारीहरू प्रदीपराज उपाध्याय, सुरजसिंह थापा, टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र र दीपक बहादुर शाहीले पनि आवेदन दिएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया