निर्जीवन व्यवसायको आम्दानी सुकेपछि पुनर्बीमाको नाफा ३९% घट्यो

0
Shares

निर्जीवन बीमा व्यवसायबाट हुने आम्दानी आधा बढीले घटेपछि नेपाल पुनर्बीमा कम्पनीको खुद नाफामा धक्का लागेको छ ।

चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा कमाएको हो । जुन नाफा २०७७ असोजको तुलनामा ३८.८३ प्रतिशतले कम हो ।

गत आवको यसै अवधिमा कम्पनीले ३९ करोड २३ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको नाफा १५ करोड २३ लाख ४६ हजार रुपैयाँले घटेको हो ।

नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायबाट १६ करोड ४९ लाख ३१ हजार रुपैयाँ र जीवन बीमा व्यवसाय ७ करोड ५० लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ७८ लाख ६४ हजार रुपैयाँ र जीवन बीमा व्यवसाय ४ करोड ४५ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसायबाट हुने आम्दानी १७ करोड २९ लाख ३३ हजार घटेको छ । निर्जीवन बीमा व्यवसायबाट हुने आम्दानी घटेपनि कम्पनीले जीवन व्यवसायबाट हुने आम्दानीमा भने उलेख्य वृद्धि गरेको छ । कम्पनीले अघिल्लो आवको यसै अवधिको तुलनामा ३ करोड ५ लाख ८७ हजार रुपैयाँ बढी नाफा कमाएको छ ।

कम्पनीको आयमा ७० प्रतिशत अधिक हिस्सा निर्जीवन बीमा व्यवसायबाट हुने गरेकाले पनि जीवन बीमा व्यवसाय वृद्धि भएपनि त्यसकाे सकारात्मक असर कम्पनीको खुद नाफामा नदेखिएकाे हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जसमा निर्जीवन व्यवसायबाट २ अर्ब १२ करोड ६९ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३७ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायबाट २ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा ७ प्रतिशत बढेको हो ।

बुधबार सार्वजनिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३४.२६ प्रतिशत रहेको छ । कम्पनीको जगेडा कोषमा ५ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।

यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ३४ लाख ६४ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १० करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ ६५ करोड ३५ लाख रुपैयाँ र जीवन बीमातर्फ २७ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९६ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सूचीकृत कम्पनीहरुले चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गर्ने समय आइसकेको भएपनि पुनर्बीमा कम्पनीले भने बल्ल असोज मसान्तसम्मको विवरण प्रकाशन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।