आइतबारदेखि ब्रोकर अफिसमा डिस्प्ले हेर्न मिल्ने, कारोबार समयमा फ्लोरसिटमा सबै विवरण हेर्न नमिल्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले बैशाख ४ गते आइतबारदेखि धितोपत्र दलाल व्यवसायीलाई स्क्रन एग्जिविशन कक्ष खुला गर्न निर्देशन दिएको छ ।दोस्रो बजार कारोबारमा ब्रोकरको डिस्प्ले बन्द गराएर सेयर कारोबार भएको २ वर्षपछि मात्रै लगानीकर्ताले डिस्प्ले हेरेर सेयर कारोबारमा संलग्न हुन पाउने भएका हुन् ।

बोर्डले विश्वव्यापी महामारीको रुप लिएको कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै ब्रोकरको कार्यालयमा भीडभाड नहोस् भन्ने अभिप्रायले २०७६ चैतदेखि स्क्रिन एग्जिविशन कक्ष बन्द गराएको थियो ।

हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको सन्दर्भमा कोभिड-१९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने/गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हो ।

नेपाल धितोपत्र बोर्डले २०७६ चैत ६ बिहीबार निर्देशन जारी गर्दै दोस्रो बजार कारोबारमा ब्रोकरको डिस्प्ले बन्द गराएर मात्रै सेयर कारोबार गर्न स्टक ब्रोकहरुलाई निर्देशन दिएको थियो । बोर्डको पछिल्लो निर्देशनपछि लगानीकर्ताले दुई वर्षपछि ब्रोकर अफिसमा डिस्प्ले हेरेर सेयर कारोबारमा संलग्न हुन पाउने भएका हुन् ।

त्यस्तै, कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोबार समय पश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।