आजदेखि पूर्णरूपमा अनलाइनबाट मात्रै संस्थागत श्रम स्वीकृति

0
Shares

वैदेशिक रोजगार विभागले बैशाख २ गते शुक्रबार (आज) देखि पूर्णरूपमा अनलाइन माध्यमबाट मात्रै संस्थागत श्रम स्वीकृति जारी गर्न थालेको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको जानकारी दिए ।

विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ ।

अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड हटेको छ । कुनै समय हजारौँको उपस्थिति हुने कार्यालय आजकाल सुनसान हुन थालेको छ ।

विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ । पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फछ्र्योट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।

गत फागुन महिना मात्रै ४८ हजार ७४३ पुरुष र चार हजार ७१४ महिला गरी ५३ हजार ४५७ जनाले विभागबाट श्रम स्वकृित लिएका छन् । श्रम स्वीकृति लिने मध्ये अधिकांश अदक्ष श्रमिक रहेका छन् ।

आठ उच्च सीपयुक्त, ६८ व्यवसायिक, चार हजार ९९६ अर्धदक्ष, २३ हजार ६६ दक्ष र २५ हजार ३१९ अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।