
प्रधानमन्त्री शेरबहादुर देउवाले भूमिको समुचित सदुपयोगका लागि सरकारले विशेष पहल गरिरहेको बताएका छन् ।
वि.सं. १९७९ साल बैशाख १ गतेबाट शुरु भएको लिखत रजिष्ट्रेशन पारित भएको औपचारिक रुपमा एक सय वर्ष पूरा भएको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले भूमिको संरक्षणका लागि भू उपयोग नियमावली स्वीकृतिको चरणमा रहेको र छिट्टै स्वीकृत गरी अगाडि बढाइने बताए ।
प्रधानमन्त्री देउवाले भूमि प्रशासनमा देखिएका समस्या समाधान गरी भूमि प्रशासनलाई स्वच्छ, पारदर्शी र व्यवस्थीत बनाउन अवश्यक रहेको भन्दै कृषियोग्य जमिनमा अनियन्त्रित ढंगबाट भइरहेको खण्डिकरण, अव्यवस्थीत सहरीकरण, प्राकृतिक स्रोतसाधनको अत्याधिक दोहन र भूमिको दुरुपयोग बढेकाले यसलाई नियन्त्रण गर्न सबै चनाखो हुन आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जमिन र जनताको जग्गा सम्बन्धी समस्या समाधान गर्न प्रविधिको प्रयोग गरी जग्गा प्रशासनलाई आधुनिकिकरण गर्ने र जग्गाको चक्लाबन्दी गर्ने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपालको सिमाना अझैपनि अन्तिम रुपमा अंकित हुन बाँकी रहेको भन्दै त्यसलाई कुटनैतिक रुपमा पहल गरी बैज्ञानिक रुपमा अंकित गर्नु आवश्यक रहेको बताए ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा प्रशासनमा रहेका समस्या समाधान गरी यसलाई सेवाग्राही मैत्री बनाउने काम शुरु भइसकेको बताउदै सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको बताइन् ।
मन्त्री श्रेष्ठले कृषि योग्य जमिन बाझो हुने, अनियन्त्रित शहरीकरण, उत्पादयोग्य जमिनको विनास हुदै गएकाले त्यसको संरक्षण गर्न भू उपयोग नियमावली पारित हुने क्रममा रहेको भन्दै यसले जमिनको चक्लाबन्दी, कृषि योग्य जमिनको संरक्षण र कृषि उत्पादन तथा उत्पादकत्व बढाउदै स्वरोजगारी विकास गरी मुलुकको समृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासीका साथै हलिया, कमैया, कमलरी, हरवा, चरवा, बादी समुदाय र स्वाबासीको समेत जग्गा सम्बन्धी समस्या समाधानका लागि काम शुरु भइसकेको जानकारी दिइन् । मन्त्री श्रेष्ठले गुठी ऐन निर्माणका लागि सरोकारवालासँग अन्तरक्रिया तथा छलफल अगाडि बढाइएको र सबैले स्वामित्व ग्रहण गर्न सक्ने गरी ऐन निर्माण भइरहेको पनि बताइन् ।
जग्गा प्रशासनमा लिखत रजिष्ट्रेसन शतवार्षिकीका अवसारमा बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्टको अध्यक्षतामा विशेष समारोह आयोजना गरी मनाइएको हो ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व मन्त्रीहरु, पूर्व राज्यमन्त्रीहरु, सहायक मन्त्रीहरु, मन्त्रालयका सेवा अवकासप्राप्त पूर्व सचिवहरु, विभागमका पूर्व महानिर्देशकहरुलाई सम्मान समेत प्रदान गरिएको थियो ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले जग्गा प्रशासन श्रेत्रलाई अझै प्रभावकारी र सेवाग्राह्रीमैत्री बनाउन विश्वमा विकास भएका नयाँ नायाँ प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको बताए ।
शतवार्षिकीका अवसरमा २०७८ साल चैत्र ३० गतेदेखि २०७९ साल बैशाख २ गतेसम्म मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग अन्तर्गत सबै भूमिसुधार/मालपोत कार्यालयहरु र नापी कार्यालयहरुमा विशेष कार्यक्रम गरी मनाइँदै छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया