प्रायः हिजोआज सेयर बजारमा धेरै नेपाली जनताको चासो ह्वात्तै बढेको छ । सेयरमा लगानी गर्ने प्रवृति बढेसँगै अक्सन सेयरमा पनि धेरै लगानीकर्ताहरुको रुचि र चासो बढेको छ ।
कम्पनीले निष्कासन गरेको हकप्रद सेयर विविध कारणले सबै बिक्रीका हुँदैन ।
बिक्री नभएको हकप्रद सेयर वा अन्य सेयर पुनः बिक्रीका लागि सम्बन्धित संस्थाहरुले बोलकबोल आह्वान गर्दछन् । यसरी कम्पनीले बिक्री नभएको सेयर पुनः बिक्री गर्नका लागि बोलकबोल मार्फत बिक्री गर्ने सेयरलाई अक्सन सेयर भनिन्छ ।
धेरै कम्पनीले चुक्ता पूँजी पुर्याउन अत्यधिक मात्रामा हकप्रद सेयर निश्कासन गरेका र उक्त हकप्रद सेयर विविध कारणले पूरै बिक्री नभएर बोलकबोल मार्फत बिक्री गर्ने परिपाटी छ । लगानीकर्ताहरुले अक्सनमा राखेका सेयरको खरिद गर्दा आवश्यक कागजातको आपूर्ति नगर्दा आवेदन खारेज भइरहेको पनि हुन्छ । अक्सन सेयर खरिदका लागि आवश्यक कागजात आवेदनका साथमा पेश गर्नु पर्दछ ।
प्रोमोटर अक्सन सेयरका लागि आम्दानीको स्रत, ट्याक्स क्लियरेन्स प्रमाणपत्र, कालोसूचिमा नपरेको प्रमाणपत्र र गुड फर पेमेन्ट चेक जस्ता कागजात आवश्यक पर्दछन् भने साधारण अक्सन सेयरमा आवेदनका लागि गुड फर पेमेन्ट चेक मात्र आवेदन फारम साथ बुझाउँदा हुन्छ ।
कसरी गर्ने अक्सन सेयरमा आवेदन ?
प्रायः अक्सन सेयर खरिद गर्न आवेदन फारम कम्पनीले नियुक्ति गरेको इस्यु म्यानेजरको कार्यालयबाट प्राप्त गर्न सकिन्छ । प्रत्येक फारमको १०० रूपैयाँ शुल्क लाग्दछ । कम्पनीले उल्लेख गरेका सम्पूर्ण कागजातहरु आवेदनसँग संलग्न गर्नुपर्ने हुन्छ । खरिद गर्न चाहेको सेयरको कुल रकम बापत निवेदकले उल्लेखित बैंकको खातामा रकम जम्मा गरिदिनुपर्ने हुन्छ अथवा फारमसँगै गुड फर पेमेन्ट चेक बुझाउनुपर्ने हुन्छ ।
लगानीकर्ताले आफूले तिर्न चाहेको मूल्य तोकेर आवेदन दिन सक्छन् । लगानीकर्ताले आफूले चाहेको मूल्यमा आवेदन दिन सकिने भएता पनि अहिलेको अवस्थामा बजार मूल्यकै आसपासमा रहेर आवेदन दिनेहरूले मात्र अक्सन सेयर पाएको अवस्था देखिन्छ, तर सबै कम्पनीमा यस्तो हुँदैन ।
कतिपय कम्पनीको अक्सन सेयर बिक्री नभएर पुनः अक्सन गरेको अवस्था पनि छ भने कतिपय कम्पनीको अक्सन सेयर बजार मूल्य भन्दा पनि बढीमा बोलकबोल भएको अवस्था पनि छ । कम्पनीको वित्तीय अवस्था र दोस्रो बजारको ट्रेन्डलाई विश्लेषण गरेर मात्र अक्सन सेयरमा बोलकबोल गर्दा लगानीकर्तालाई फाइदा हुने देखिन्छ ।
बोलकबोलमा कसरी छानिन्छ आवेदन ?
बोलकबोलमा आवेदन छनौट गर्ने विभिन्न तरिका हुन्छन्, कतिपय बोलकबोलमा पहिले उच्च मूल्य तिर्नेबाट क्रमशः त्यसपछिको कमका लागि सेयर छुटाउने गरिन्छ । यसरी छुट्याउदै जाँदा जुन मूल्यमा पुग्दा बिक्री गरिने पूरै सेयर सकिन्छ, त्यहीँ नै बिक्री मूल्य तय हुन्छ ।
अधिकतम मूल्यका लागि मागिएको परिमाणदेखि कट अफ रेटसम्म आईपुग्दा त्यसपछि बिक्रीका लागि सेयर बाँकी नरहने हुँदा त्यसपछिको आवेदन स्वतः रद्ध हुन्छ । नेपालको परिवेशमा भने बोलकबोलमा सेयरमूल्य निर्धारण गर्दा यसभन्दा केही फरक तरिका अपनाइन्छ । यहाँ बोलकबोलमा पहिला उच्च मूल्य तिर्नेबाट क्रमशः त्यसपछि कमका लागि सेयर छुट्याउँदै गइन्छ । यसरी सेयर छुट्याउँदै जाँदा जुन मूल्यमा पुग्दा बिक्री गरिने पूरै सेयर सकिन्छ, त्यसलाई ‘कटअफ’ रेट भनिन्छ ।
बोलकबोलका सेयरहरु प्राय छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य बोली लगाउने लगानीकर्तालाई नै माग गरे बमोजिमको सेयर दिइन्छ । यदि दुई अथवा बढी लगानीकर्ताले एउटै मूल्यको बोली लगाएको खण्डमा मिलाएर शेयर बाँडफाँड गरिन्छ । शेयर नपरेका लगानीकर्ताहरुलाई सात दिनभित्र रकम फिर्ता गरिन्छ ।
अक्सन सेयर खरिदका फाईदा
लगानीकर्ताले संस्थाबाट नै सिधा सेयर खरिद गर्ने भएकाले ब्रोकर कमिसन र सेवोन कमिसन तिर्नु पर्दैन । छिट्टै बजारमा लिस्ट हुन्छ ।बजारबाट एकैपटक ठूला ठूला सेयर कित्ता खरिद गर्न निक्कै गाह्रो हुन्छ, तर अक्सन सेयर सजिलै ठूलो भोल्यूममा खरिद गर्न सकिन्छ ।
लगानीकर्ताले अक्सन सेयर भर्दा, बाँडफाँड हुँदा र रकम फिर्ताको दिनको समय ताेकिएकाे अवधिमा नै सम्पन्न हुन्छ । अहिले सेयर लगानीकर्ताहरुको ध्यान अक्सन सेयरतर्फ पनि गएको पाइन्छ भने कतिपय लगानीकर्ताहरुले अक्सन सेयरबाट छोटो समयमा नाफा कमाउन बजार मूल्यभन्दा बढी मूल्यमा बोलकबोल लगाएका हुन्छन् ।
कति मूल्यमा अक्सनको सेयर किन्ने ?
लगानीकर्ताहरुको सबैभन्दा ठूलो चासोको विषय भनेको नै अक्सन सेयरमा कति मूल्य लगाउँदा उचित होला भन्ने हुन्छ ।
अहिलेको ट्रेन्डलाई राम्ररी हेर्ने हो भने प्राय लगानीकर्ता जसले कम्पनीको सोही दिनको बजार मूल्यको ६० देखि ८० प्रतिशतले बोली लगाएका छन्, तिनै लगानीकर्ताहरु प्रायः सफल भएका छन् । तर कति मूल्य लगाउने भन्ने कुरा कम्पनीको वित्तीय अवस्था, बजारको अवस्था हेरेर हुन्छ । उचित मूल्य लगाउन सकेमा अक्सन सेयरबाट उचित नाफा लिन सकिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया