गण्डकीमा सातौं कृषि गणना आजदेखि सुरु

0
Shares

गण्डकीमा सातौं कृषि गणना आजदेखि सुरु भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी थालिएको हो । नेपालमा विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आएको छ ।

कृषि क्षेत्रको वास्तविक तथ्याङ्क पप्ता लगाउँदै यसको आधुनिकीकरण एवं व्यावसायीकरणलाई समेत जोड दिने सरकारको लक्ष्यअनुरुप २०७८ चैत २५ देखि वैशाख २ गतेसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो । आगामी जेठ १९ गतेसम्म गणना जारी रहने छ ।

मुलुकको कूल गार्हस्थ उत्पादनमा एक चौथाइभन्दा बढी योगदान रहेको कृषि क्षेत्र यथार्थ विवरण सङ्कलन गर्नका लागि मुलुकका सातै प्रदेशका ७५३ पालिकाका छनोट गरिएका १३ हजार ५७८ गणना क्षेत्रबाट प्रतिनिधिमूलक नमूना सङ्कलन गर्न झण्डै तीन लाख ५० हजार कृषक परिवारको छनोट गरिएको छ ।

‘कृषि योजना र विकासको मूल आधार, पारौँ कृषि गणना २०७८ साकार’ भन्ने मूल नाराका साथ सुरु भएको गणनाले कृषि क्षेत्रलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।

गणना अन्तर्गत कृषक परिवारले चलन गरेको जग्गाको उपभोक्ता र उपयोग, कित्ताको वितरण, सिँचाइ गरेको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन र कन्दमूल, तेल, नगदे, मसला बाली, फलफूल लगायतले ओगटेको क्षेत्रफल तथा प्रमुख बालीहरूको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोग सम्बन्धमा तथ्याङ्क लिइने छ ।

त्यस्तै पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउखेती, पुष्पखेती, रेशम पालन, कषिमा ऋण, बीमा अनुदान, कृषिमा वातावरणको प्रभाव, खाद्यान्नको पर्याप्तता र परिवारका अन्य आर्थिक क्रियाकलाप, कृषि कामदारसँगै गणनामा महिलाको नाममा रहेको जग्गाको बारेमा समेत विवरण सङ्कलन गरिने बताइएको छ ।

गणना गरिने वडाको भूउपयोग, समुदायमा हुने प्रमुख कृषि उत्पादन र उत्पादकत्व, सम्बन्धी विकास कृषि कामदारको अवस्था र पारिश्रमिक, विपद्का घटनाले समुदायमा पारेको असर, सेवा सुविधा, कृषि बजार, विकास निर्माणका योजना, फोहर व्यवस्थापन, जङ्गली जनावरले कृषिमा गरेको क्षति, सामुदायिक कुकुर र गाईवस्तुको सङ्ख्या सङ्कलन गरिने गण्डकी प्रदेश कृषि गणना अधिकृत जगु वस्यालले जानकारी दिए ।

उनका अनुसार कृषि गणनाबाट प्राप्त तथ्याङ्कको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिको लागि मद्दत पुग्ने विश्वासका साथ परिवार र समुदायमा आधारित कृषि कार्यमा काम अतिरिक्त सरकारी, अर्थसरकारी, सहकारी र संस्थागतरूपले सञ्चालन गरेका व्यावसायिक कृषि कार्यको पनि तथ्याङ्क सङ्कलन गरिने छ ।

हिमाल र पहाडका जिल्लामा कम्तीमा चार आना र तराईको हकमा आठ धुर क्षेत्रलफल बाली लगाएको भएमा वा जुनसुकै उमेरका कम्तीमा एक वटा गाईँ, भैसीजस्ता ठूला चौपाया पालेको भएमा तथा पाँचवटा भेडाबाख्रा जस्ता साना चौपाया पालेको भएमा एवं माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पक्षी पालेको भएमा गणनामा समेटिने भएको छ । वडास्तरमा छाडा चौपाया तथा कुकुरको समेत गणनाले समेटने छ ।

अग्र्यानिक खेती प्रणालीको अभ्यास, विषादीको प्रयोगको कृषकको सचेतीकरण सहित जलवायु परिवर्तनले कृषि कार्यमा देखिएको प्रभाव, उत्पादनमा वृद्धि वा कमी, स्वादमा परिवर्तन, रोग किराको प्रकोप, बाली लाग्ने समयमा परिवर्तन, प्रजातिको लोप तथा उत्थानमा समेत कृषिकको सत्यतथ्य धारणा गणनामा आउने उनको विश्वास छ ।

तोकिएका घर तथा फार्ममा आउने गणकलाई आफ्नो कृषिका बारेमा सम्पूर्ण विवरण दिएर सहयोग गरिदिनु हुन अनुरोध गर्दै बस्यालले सुरक्षा निकाय, जनप्रतिनिधि, कर्मचारीलगायतको आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशमा अनुमानित ३२ हजार ७२५ फारम भर्ने कार्यक्रम रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार  १३ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।