नेप्से २२८७ अंकसम्म झरेर फर्कियो, कारोबार रकममा पनि सुधार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ । सेयर बजार मापक सूचक नेप्से २२८७ अंकसम्म झरेर फर्किएको हो ।

बिहीबार दिउँसो २ बजे सबैभन्दा कम बिन्दुमा रहेको नेप्से कारोबारको अन्त्यसम्ममा ३८ अंक बढेर २३२५ अंकमा पुगेर बन्द भएको छ ।

कारोबारको तीन घण्टासम्म घटेको नेप्से अन्तिम घण्टामा आएर बन्द भएको हो ।बुधबारको क्लोजिङ्ग बिन्दुबाट भने नेप्से करिब ५ अंकमात्र बढेको छ । बुधबार बन्द बिन्दुबाट ३३ अंकसम्म झरेको नेप्सेले पछिल्लो एक घण्टामा लय समातेको थियो ।

पन्ध्र महिनाअघि नेप्से परिसूचक २२८१.६७ बिन्दुमा रहेको थियो । बिहीबार नेप्से सूचक ४.९४ अंक बढेर २३२५.४५ बिन्दुमा बन्द भएको छ । यस दिन ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेर ४४३.१४ बिन्दुमा पुगेको छ ।

बिहीबार कूल २३१ वटा कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता सेयर ३६ हजार १९० पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रूपैयाँ पुगेको छ । नेप्से हरियाली भएसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा १७ करोडले बढेको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा अब भने सुधारको संकेत देखिएको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत तथा होटल तथा पर्यटन उपसमूहको १.०४ प्रतिशत बढेको छ । बैंकिङ्ग, वित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार परिसूचक घटेका छन् ।

आज ग्रीन भेन्चर्स लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । जाल्पाको सेयर ६४.५० रुपैयाँ बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ र ग्रीन भेन्चर्सको सेयरमूल्य ३२.८० रुपैयाँ बढेर ३६०.८० रुपैयाँ पुगेको छ । समीट लघुवित्तको सेयरमूल्य ७.५९, गणपति र जनउत्थान लघुवित्त ६ प्रतिशत धेरैले बढेको छ ।

यस दिन घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ६.३० प्रतिशतले घटेको छ । कम्पनीको सेयरमूल्य १२ं५ रुपैयाँले घटेर प्रतिकित्ता २२३ रूपैयाँ कायम भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य यस दिन ४.२१ प्रतिशत अर्थात ६९० रुपैयाँ घटेर १५ हजार ६८१ रुपैयाँमा आइपुगेको छ । आईएमई जनरल, राष्ट्रिय बीमा कम्पनी संस्थापक, जनरल इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स र युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावरको सेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबार रकमका आधारमा बिहीबार कारोबारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड नै अब्बल रहेको छ । लघुवित्तकोे १० करोड ३६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी नबिल बैंकको ५ करोड ९ लाख, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंकको ४ करोडभन्दा बढीको सेयर कारोबारमा आएको छ । हिमालयन डिष्टिलरी, राष्ट्रिय बीमा कम्पनी, छिमेक लघुवित्त, नेपाल फाइनान्स, निफ्रा, र अपि पावर शीर्ष दश ठूलो कारोबार हुने कम्पनीभित्र समेटिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार  १६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।