इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह

0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गरेकी छिन् ।

नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीसँग शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटको क्रममा ऊर्जामन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटन आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याइन् । भेटमा उनीहरूबीच आपसी सम्बन्ध र चासोका विविध विषयमा समेत छलफल भएको छ ।

जलविद्युत विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “नेपाल जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो ।

इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।” उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिन् ।

ऊर्जामन्त्री भुसालसँगको भेटमा राजदूत किभीले इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिँदै नेपालसँग सहकार्य गर्न सकिने बताइन् । उनले ‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने भन्दै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको जानकारी दिइन् ।

नेपाल र स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार  १६ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।