एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड पुग्यो

0
Shares

एभरेष्ट इन्स्योरेन्सको बुधबार सम्पन्न २७ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ७ करोड ४७ लाख ५३ हजार ९६२ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

अग्रवाल भवन कमलपोखरीमा सम्पन्न भएको सभाले चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको ६ प्रतिशतले हुन आउने ७ करोड १० लाख १६ हजार २६४ रूपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशतले हुन आउने ९३७ लाख ३७ हजार ६९८ रूपैयाँ नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो ।

लाभांश (बोनस) प्रस्ताव पारित भएसँगै एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख २० हजार ६६४ रुपैयाँ पुगेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ २०७९ साल वैशाख १२ गते सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार वैशाख ११ गते नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

त्यसैगरी सभाले एभरेष्ट इन्स्योरेन्स र निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको छ । सभा मार्फत संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीतर्फबाट २ जना सञ्चालक चयन भएका छन् ।

यस्तै कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।  सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।