मादक पदार्थ सेवन गरेकाले भोट हाल्न नपाउने, अशक्त भए एकाघरको परिवारको सदस्यबाट सहयोग लिनसक्ने

0
Shares

निर्वाचन आयोगले विसं २०७९ साल वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका २०७८ जारी गरेको छ ।

उक्त निर्देशिकामा विभिन्न व्यवस्था गरिएको छ । जसअनुसार मतदाता भएतापनि मादक पदार्थ सेवन गरेको व्यक्तिलाई मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिन नहुने व्यवस्था छ । यसअनुसार मादक पदार्थ सेवन गरेर मतदान गर्न गएको खण्डमा त्यस्ता व्यक्ति मतदान गर्नबाट बञ्चित हुनुपर्ने पनि हुनसक्छ ।

मतदानकेन्द्रमा जाँदा दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताहरुले सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यको सहष्योग दिन सक्नेछन् । मतदान अधिकृतले साथमा एक जनालाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नावालक मात्र प्रवेश गर्न पाउनेछन् ।

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान पाइने छैन ।

उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानून बमोजिम कारबाही हुने निर्वाचन आयोले स्पष्ट पारेको छ । आयोगले मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग हार्दिक अपिल गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७९, बिहिबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।