चुनावका दिन शुक्रबार सम्पूर्ण राष्ट्रिय उडान बन्द हुने

0
Shares

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत् रहनेछन् ।

शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका कारण सम्पूर्ण वायुसेवा प्रदायक कम्पनीहरुले उक्त दिन सेवा नदिने भएका हुन् । स्थानीय तहको निर्वाचन हुने भएकाले सोही दिन सम्पूर्ण सार्वजनिक यातायातदेखि उडान सेवासमेत बन्द हुने भएको हो ।

सबै हवाई सेवा प्रदायक कम्पनीहरुले उक्त दिन मानवीय उद्धार, सहायता र सरकारको निर्देशनबाहेक अन्य उडान सबै बन्द हुने जनाएका छन् । शुक्रबारको मतदान सम्पन्न भएपछिका उडान भने तालिका अनुसार नियमित हुने ती कम्पनीहरुले जनाएका छन् ।

निजी क्षेत्रबाट सञ्चालित रहि उडान क्षेत्रमा ख्याति कमाएको बुद्ध एयरलाइन्सले आफ्नो सम्पूर्ण उडान तथा कल सेन्टर र सेल्स काउन्टर सेवा बैशाख ३० गते एक दिनका लागि स्थगित गरिएको जनाएको छ ।

यसैगरी अर्को सेवा प्रदायक यती एअरलाइन्सले पनि मानविय उद्दार तथा अनुमति प्राप्त चार्टर उडान बाहेकका सम्पूर्ण नियमित उडानहरु बन्द हुने जनाएको छ ।

यसैगरी तारा एअरले दुर्गममा गर्दै आएको खाद्यान्न ढुवानी तथा पर्यटकहरुको लागि गर्ने चार्टर उडानहरु भने हुने जनाएको छ । सो एयरले वायुसेवा सञ्चालक संघ नेपालको सूचना अनुसार शुक्रबार नियमित उडान नहुने जनाएको हो ।

यसअघि वायुसेवा सञ्चालक संघ नेपालले संघमा आबद्ध रहने सबै सदस्य वायुसेवाहरूको नियमित उडान बैशाख ३० गते शुक्रबार बन्द हुने जनाएको थियो । निर्वाचन आयोगको यही २२ वैशाखमा बसेको बैठकले स्थानीय चुनावको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो । सोहीअनुसार वायुसेवा सञ्चालक संघले पनि आन्तरिक सबै हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयबाट पास नलिएका र अत्याश्यक बाहेक निजी तथा सार्वजनिक यातायातका सवारी साधन भने चलाउन पाइँदैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७९, बिहिबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।