पश्चिमा प्रतिबन्धका बावजुद रुसको चालु खाता सञ्चिति बढ्दो

0
Shares

सन् २०२२ को पछिल्लो चार महिनामा रुसको चालु खाता सञ्चिति ९५ अर्ब ८ करोड डलर भन्दा धेरै सञ्चित हुन पुगेको छ ।

रुसले युके्रनमा आक्रमण गरेपछि अमेरिका, बेलायत लगायतका पश्चिमा देशहरुले विभिन्न आर्थिक तथा वित्तीय प्रतिबन्धहरु लगाएका थिए । उक्त प्रतिबन्धका बावजुद विश्वव्यापी रुपमा अधिकांश देशहरुको चालु खाता घाटामा हुँदा रुसको चालु खाता नाफामा गएको हो ।

युद्ध सुरु भएपछि इन्धनको मूल्य आकाशिएको छ । उच्च मूल्यको इन्धन निर्यात र आयातमा कमी आउँदा रुसको चालु खाता नाफा हुन पुगेको छ । रुसले युरोपियन युनियन अन्तर्गतका देशहरु, बेलायत, जापान जस्ता देशहरुमा इन्धन तथा खाद्यान्न आपूर्ति गर्ने गरेको छ । रुसको चालु खाता नाफा यो वर्ष सन् १९९४ यताकै उच्च हुन पुगेको छ ।

रुबल बलियो हुँदै गएपछि रुसलाई आयातमा सहयोग पुगेको छ । यसै सन्दर्भमा फिनामका अर्थशास्त्री ओल्गा बेलेन्कायाले रुसको चालु खाता नाफा अस्थायी रहेको र दीर्घकालीन रुपमा लगाइएका प्रतिबन्धहरुका कारण यहि अनुपातमा नाफा कायम गर्न गाह्रो पर्ने बताएका छन् ।

युरोपियन युनियनले रुसी तेल आयात नगर्ने प्रक्रिया अघि बढाएता पनि युरोप इन्धन तथा प्राकृतिक ग्यासको लागि रुसमा निर्भर भएकोले यस निर्णयले युरोपलाई थप समस्या पर्ने विश्लेषकहरुको भनाइ रहेको छ ।

रुसी अर्थतन्त्र, इन्धन निर्यातमा लगाइएका प्रतिबन्धका बावजुद सन् २०२१ को चालु खाता नाफाको तुलनामा यस वर्षको चालु खाता नाफा दोब्बर हुने अनुमान विश्लेषकहरुले गरेका छन् । सन् २०२१ मा १२२ अर्ब डलर नाफा कमाएको रुसले यो वर्ष २६४ अर्ब डलर नाफा कमाउने आकलन गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।