नीति तथा कार्यक्रमको सकारात्मक असर नेप्सेमा पर्दा दोहोरो अंकको वृद्धि

0
Shares

सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारको विषय उल्लेख हुँदा बजार सूचक नेप्से दोस्रो दिन पनि दोहोरो अंकले बढेको छ । यसअघि निरन्तर घट्दो क्रममा रहेको नेप्से सरकारको नीति तथा कार्यक्रमका कारण मंगलबार १६ अंकले बढेकोमा बुधबार थप १४ अंकले सुधार भएको हो ।

सरकारको तफृबाट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको नीति तथा कार्यक्रममा सरकारले पूँजी बजारको विकास र विस्ताको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने नीति लिने जनाएको छ ।

यस्तै पूँजी बजारका नियामकको क्षमता अभिवृद्धि गर्ने घोषणा र पूँजीबजारको विस्तार तथा विकास गर्नका लागि पूँजी बजार र बीमालाई उत्पादनसँग जोडिने समेत उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्राथमिकता दिइएको कारण आगामी बजेट पूँजी बजारमैत्री आउने अपेक्षा लगानीकर्ताले गरेका छन् । पछिल्लो समय बजार सूचक घटेर सूचीकृत धेरै कम्पनीको औसत मूल्य ५२ हप्ताको न्यून अवस्थामा झरेकाले पनि बजारमा पैसा बोकेर बसेका लगानीकर्तालाई भ्याल्यू इन्भेष्टर्सको रुपमा लाभांशमा आधारित लगानी गर्ने अवसर छ ।

चालु आव सकिन लागेकाले वित्तीय प्रणालीमा तरलता अभाव सम्बोधन हुने र साउनपछि धमाधम म्युचुअल फण्ड लगायत सूचीकृत कम्पनीहरुको लेखापरीक्षणपछि लाभांश घोषणा हुने भउकाले पनि यो समय अब लाभांशमा आधारित रहेर राम्रो राम्रो स्क्रिप्ट छानेर पूँजी बजारमा लगानी गर्ने अवसरको रुपमा लिने गरिन्छ ।

सेयर बजार बुधबार १४.३७ अंकले बढेर २२३१.५७ बिन्दुमा आइपुगेको छ । आज २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर २२ हजार ३१ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कारोबारमा आएका सबै उपसमुहगत सूचकमा हरियाली छाउँदा ब्यापार र निर्जीवन बीमा करि साढे १ प्रतिशतले बढेको छ । बाँकी एक प्रतिशतभन्दा कम सुधारिएका छन् ।

आज अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ३४ लाख ८ हजार रुपैयाँ बराबरको १ लाख ५७ हजार १६७ कित्ता सेयर खरीद बिक्री भएको छ । अरुण काबेली हाइड्रोपावर ४ करोड ७१ लाख ६८ हजार र नबिल बैंक ३ करोड ४४ लाख ८५ हजार सहित क्रमशः कारोबार रकमको आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । अरुण भ्याली, अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र जाल्पा लघुवित्तको २ करोड बढीको सेयर कारोबार भएको छ ।

आजबाटै कारोबार सुरु भएको बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.९२ प्रतिशतले बढेर प्रतिकित्ता ११०.९० रुपैयाँ पुगेको छ । यस्तै मैलुङ्गखोला जलविद्युत कम्पनीको ५.८४, सिंगटी हाइड्रोपावर ५.३३, गुराँस लघुवित्त ५.२२, नेपाल इन्स्योरेन्स ४.२४ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्स ४.२३ प्रतिशत, अपर तामाकोशी ४.१३ प्रतिशत र जाल्पा लघुवित्तका लगानीकर्ताले ४.२४ प्रतिशतले कमाएका छन् ।

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक ७.१३ प्रतिशतले गुमाएका छन् । यसैगरी लक्ष्मी लघुवित्तका लगानीकर्ताले ३.४९, समृद्धि फाइनान्स ३.३६, युनाइटेड इदी मर्दी हाइड्रोपावर २.४५ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.०३ प्रतिशतले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार  १९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।