तीन वाणिज्य बैंकले दश अर्ब दश करोड रुपैयाँ बराबरको १ करोड १ लाख कित्रा इकाईको ऋणपत्र बिक्री गर्ने भएका छन् ।
बैंकिङ्ग प्रणालीमा दीर्घकालीन लगानीको स्रोत जुटाउने उदेश्यका साथ तीन वटै बैंकले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग ऋणपत्र बिक्री गर्न जेठ ९ गते अनुमति मागेका हुन् ।
बोर्डका अनुसार प्राइम कर्सियल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र जारी गर्न अनुमति मागेको छ । बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको ‘प्राइम डिबेञ्चर २०८४’ बिक्री गर्न अनुमति मागेको हो । ऋणपत्र बिक्रीका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यस्तै सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता इकाई ऋणपत्र जारी गर्न अनुमति मागेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ‘एसबिएल डिबेञ्चर २०८९’ बिक्री गर्न अनुमति मागेको हो । ऋणपत्र बिक्रीका लागि बैंकले कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यसैगरी बैंक अफ काठमाण्डू लिमिटेडले एक अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता इकाई ऋणपत्र जारी गर्न अनुमति मागेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा सात वर्ष अवधिको ‘बिओके डिबेञ्चर २०८६’ बिक्री गर्न अनुमति मागेको हो । ऋणपत्र बिक्रीका लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया