सम्पत्ती शुद्धीकरणको जोखिमलाई विशेष ध्यान दिई तोकिएको मितिमा बीमा समितिमा प्रतिवेदन पेश गर्न निर्देशन

0
Shares

बीमा समितिका निर्देशक दिनेश कुमार लालले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

बीमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित कार्यक्रममा निर्देशक लालले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएको बताए ।

यस्तै समितिकाे कानून तथा नियमन महाशाखाका प्रमुख समेत रहेका उनले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रतिवेदन तयार गरी सम्बद्ध निकायमा समेत जानकारी दिन निर्देशन दिए । समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेश गर्न निर्देशन दिए ।

निर्देशक लालले परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम र समितिबाट जारी निर्देशिका, निर्देशन एवं परिपत्र अनुरूप काम भएको छ छैन र समस्याहरू के के छन् भन्ने बारेमा तथ्यपरक ढङ्गले उल्लेख गरी समस्या समाधानको कार्ययोजना सहित परिपालन प्रतिवेदन पेश गर्नुपर्ने बताए ।

निर्देशक लालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सम्वेदनशील विषय भएकाले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवं उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धी प्रस्तुती गर्दै परिपालन प्रतिवेदनमा कम्पनीका काम कारवाहीका साथै कमी कमजोरी समेत प्रष्टसँग उल्लेख गर्न र सञ्चालक समितिबाट स्वीकृत गरेर मात्र समितिमा पेश गर्न आग्रह गरे ।

यसैगरी, समितिका उपनिर्देशक (कानून) हृदयश्वर पण्डितले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सम्बन्धी प्रस्तुती गर्दै बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिमका आधारमा जोखिम विश्लेषण गर्न र शंकास्पद कारोबार पहिचान गरी सम्बद्ध निकायमा समेत जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानून) शाम्भराज लामिछाने र सहायक निर्देशकहरू प्रदिप गौतम तथा गीता नेपाल आचार्य र निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूका साथै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।

समितिले निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार  १८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।