राष्ट्र बैंकले गरेका नीतिगत व्यवस्थालाई धितोपत्र बोर्डले सम्बोधन गर्न सक्दैन : अध्यक्ष हमाल


नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले गरेका नीतिगत व्यवस्थालाई धितोपत्र बोर्डले सम्बोधन गर्न नसक्ने बताएका छन् । सोमबार खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड पुगेका लगानीकर्तालाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले बजार सुधारका सम्बन्धमा लगानीकर्ताले उठाएका विषय सम्बोधनका लागि पहल गर्ने बताउँदै राष्ट्र बैंकका सम्बन्धमा बोर्डले सम्बोधन गर्न नसक्ने बताएका हुन् ।

सबै निकायका आआफ्नै काम गर्ने प्रकृयाहरु रहेको भन्दै अध्यक्ष हमालले बोर्डका तर्फबाट बजार सुधारका लागि टास्क फोर्स बनाएर काम गर्ने बताए । लगानीकर्ताले उठाएका सबै विषय एकै पटक सम्बोधन हुन नसके पनि विभिन्न पक्षसँगको छलफल र सम्वादबाट क्रमिक रुपमा मागहरु सम्बोधन गर्दै जाने उनको भनाई थियो ।

आफुले दिएको आश्वासप्रति भरोसा गर्न पनि बोर्ड अध्यक्ष हमालले लगानीकर्ताहरुलाई आग्रह गरे ।

नियामक निकायले बजारका सम्बन्धमा गर्ने नीतिगत व्यवस्थाहरु अनपेक्षित हुँदा लगानीकर्ताको मनोबलमा असर पारेकोतर्फ लगानीकर्ताहरुले बोर्ड अध्यक्ष हमालको ध्यानाकर्षण गराएका थिए । बजारलाई स्थायीत्व दिनका लागि समस्याको पहिचान गर्न उनीहरुले हमालसँग आग्रह गरेका थिए ।

ब्रोकर लाइसेन्स वितरण, बैंकलाई ब्रोकर लाइसेन्स, मार्जिन कारोबारको प्रभावकारी कार्यान्वायन लगायतका कामलाई तिब्रता दिन उनीहरुले बोर्ड अध्यक्ष हमालसँग आग्रह गरेका थिए ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बजारको संवेदनशीलतालाई लगानीकर्ताले सँधै शिरोधार्य गर्नु पर्नेमा जोड दिएका थिए । बजार बढ्दा वा घट्दा कुनै पनि अवस्थामा संवेदनशील भएर निर्णय लिन नसक्दा दुर्घटना हुन सक्ने भन्दै उनले बोर्ड पनि बजार सुधारका लागि संवेदनशील भएर लागिरहेको बताएका थिए । अनसन मात्र बजार सुधारको विकल्प नभएको भन्दै उनले सबै पक्ष मिलेर बजार सुधारमा लाग्नु पर्नेमा जोड दिए ।

पूँजी बजार सुधारका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाले १९ बुँदे मागसहित अनसन बस्ने घोषणा गरे पछि उनी आफ्ना समर्थक लगानीकर्तासहित बोर्ड पुगेका हुन् । उनले बोर्ड अध्यक्ष हमाल सहित बोर्डका पदाधिकारीलाई अनसन बस्नु नपर्ने अवस्था बनाउनका लागि आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।