
विसं २०७९ जेठ २३ गते सोमबार आज संघीय संसद प्रतिनिधि सभाको एघारौं अधिवेशनको १६ बैठकमा यसप्रकारको कार्यसूची निर्धारण गरिएको छ ।
सभाको पहिलो प्रस्तावमा व्यवस्थापन कार्य सम्माननीय सभामुखले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
यसैगरी दोस्रो प्रस्तावमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
माथिका दुई विद्येयकमाथिको छलफल पश्चात तेस्रो प्रस्तावको रुपमा विनियोजन २०७९ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गरी विभिन्न पाँच मन्त्रालयको शीर्षकहरुमाथि विधेयक माथिको छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।
चौथो प्रस्तावको रुपमा सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०७९ अन्र्तगत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी पाँचौं प्रस्तावमा सांसद दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७९ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकममा १०० रुपैयाँ घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यस्तै छैटौं प्रस्तावको रुपमा सांसद डा. शिवमाया तुम्बाहाङफेले “विनियोजन विधेयक, २०७९ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
सातौं प्रस्तावको रुपमा सांसद जगत बहादुर सुनार (विश्वकर्मा) ले “विनियोजन विधेयक, २०७९ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आठौं प्रस्तावमा सांसद घनश्याम खतिवडाले “विनियोजन विधेयक, २०७९ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अन्तिम प्रस्तावका रुपमा सांसद जुली कुमारी महतोले “विनियोजन विधेयक, २०७९ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँ गरियोस्” भनी खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया