सेयरबजार बढ्दा खुशी हुनुहुन्छ ? खुशी क्षणिक पो हुने हो कि !

0
Shares

सेयरबजार सूचक बढ्दा लगानीकर्ताहरु पक्कै खुशी हुन्छन् । विश्वभरका लगानीकर्ताहरु यतिवेला बजार बढ्छ भन्ने आशामा बसिरहेका छन् । के बजार साच्चिकै बढ्ला त ? या बजारमा बियरिस ट्रेन्ड अझै रहिरहला ? के भन्छन् विज्ञहरु ?

विश्वव्यापी रुपमा सेयरबजार अस्थिर रहेको छ । बियरिस ट्रेन्ड चलिरहेता पनि बेला–बेलामा सेयरबजार केही अंकले उकालो चढिरहेको छ । यसै क्रममा न्युवर्क स्टक एक्सेन्जका विश्लेषकहरुले बियरिस ट्रेन्ड कायमै हुने हुँदा आकस्मिक रुपमा केही अंकले बजार बढ्नुलाई ठूला लगानीकर्ताहरुले नव–लगानीकर्ताहरुलाई झुक्काउने जालको रुपमा प्रयोग गरेको बताएका छन् ।

मे महिनाको सुरुवातमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले औसत ब्याजदर बढाएपछि विश्व सेयरबजार अस्थिरता तर्फ धकेलिएको छ । विश्लेषकहरुले गरेको आर्थिक वृद्धि प्रक्षेपण फेल हुँन थालेको छ । महंगी चुलिँदै गएको छ । यसैक्रममा मुद्रास्फीति नियन्त्रणका निमित्त आक्रमक रुपमा औसत ब्याजदर वृद्धि गर्ने जस्ता अभिव्यक्ति फेडरल रिजर्भका प्रमुखले दिएपछि देशमा आर्थिक मन्दी हुन सक्ने सम्भावनाले लगानीकर्ताहरु आत्तिएका छन्।

अत्तालिएका लगानीकर्ताहरुले प्रतिकुल समयमा घाटा सहेर नै सेयर बिक्री गरेपछि विश्व सेयर बजारको अवस्था लगानी अनुकूल हुन सकेको छैन । बढ्दो अस्थिरताका कारण मे महिनामा अस्थिर रहेको सेयरबजार जुन महिना लागेपछि केही अंकले सुधार भएको छ । केही अंकले बजार उकालो लागेपछि न्युवर्क स्टक एक्सचेन्जका विश्लेषकहरुले लगानीकर्ताहरुलाई अवसरवादी बन्न र स्थीर आम्दानी गरिरहेका कम्पनीमा लगानी गर्न सुझाएका छन् ।

यसै क्रममा मोर्गन स्टान्ली इन्भेष्टमेन्ट बैंकका इक्युटी स्र्टाटजीष्ट माइकल वील्सनले निरन्तर घटिरहेको बजारले सेकेन्ड हाफमा केही अंक गेन गर्नु टिपिकल बियरिस मार्केटको विशेषता रहेको बुझाएका छन् ।

गत ६ महिनाको तथ्यांक हेर्दा, विश्वका प्रमुख सूचांकहरु ओरालो लागेको देखिन्छ । यसै क्रममा अमेरिकाको नास्डाक कम्पोजिट सूचांक २१.१० प्रतिशतले ओरालो लागेको छ । यसैगरी एस एन्ड पी सूचांक १०.५२ प्रतिशत र डाउ जोन्स इन्डस्ट्रियल इभरेज ६.६१ प्रतिशतले घटेको छ । जापानको निकेई२२५ सूचांक १.९० प्रतिशतले ओरालो लागेको छ भने चीनको साङघाई कम्पोजिट १० प्रतिशतले घटेको छ । भारतको निफ्टी ५० २.३२ प्रतिशतले ओरालो लागेको छ भने युरोनेक्स्ट एनभी ९.५० प्रतिशतले घटेको छ ।

विश्व सेयरबजार घटिरहेको अवस्थामा नेपाली सेयर बजार पनि अछुतो रहन सकेको छैन । विगत ६ महिनाको तथ्यांक हेर्दा नेपाल स्टक एक्सेन्ज १४ प्रतिशतले ओरालो लागेको छ ।

बजारमा बियरिस ट्रेन्ड विद्यमान रहेको समयमा सेयरबजार १० प्रतिशतले बढ्ने र पछि बजार व्यापक रुपमा घट्ने क्रम सन् १९२९ को बियरिस बजारले बताएको बैंक अफ अमेरिकाकी अनुसन्धान रणनीतिज्ञ सबिता सुब्रमन्यमले बताएकी छिन् । उनी भन्छिन्, “सन् १९२९ मा ११६ दिनको लागि बजार बियरिस रहेको बेलामा २७ मध्येका १७ वटा सेयरबजार १० प्रतिशतले बढेका थिए । यस समयमा लगानीकर्ताहरुले बजार बढ्यो भन्ने सोचेका थिए । तर त्यस लगत्तै बजार व्यापक रुपमा घटेको थियो । ” यसैगरी बैंक अफ अमेरिकाले आफ्ना कलाइन्टहरुलाई डिफेन्सीभ स्टकमा लगानी गर्न सुझाएको छ ।

बैंक अफ अमेरिकाको तुलनामा मोर्गन स्टान्लीको टिप्पणी अझ बढी नकरात्मक रहेको छ । वील्सन र उनको टीमले एस एन्ड पी अगस्ट महिना सम्म ३.४ प्रतिशतले घट्ने प्रक्षेपण गरेका छन् । एस एन्ड पी ५०० सूचांक केही अंकले बढेता पनि अहिलेको तुलनामा १८ प्रतिशतले सेयरबजारमा गिरावट आउने उनीहरुको ठम्याइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।