अमेरिकाले आधिकारिक रुपमा रुसी धनाढ्य रोमन अब्रामोवीचका दुई विमान जफत गर्ने अनुमति पाएको छ ।
रुसले युक्रेनमा युद्ध सुरु गरेपछि अब्रामोवीचका दुई हवाइ–जहाजहरुले इस्तानबूल बाट मोस्को र दुबईबाट मोस्को उडान भरेपछि, उक्त उडानले अमेरिकी एक्सर्पोट कन्ट्रोल सम्बन्धी नियम उल्ङघन गरेको आरोप अब्रामोवीचलाई लागेको थियो।
उनी विरुद्ध अमेरिकी वाणिज्य विभागले मानह्याटन अदालतमा प्रशासनिक जरिवानाको माग गर्दै मुद्दा दायर गरेको थियो । यसैक्रममा मानह्याटन अदालतले रोमन अब्रामोवीचका दुई हवाई–जहाज जफत गर्ने अनुमति वाणिज्य विभागलाई दिएको हो ।
अमेरिकी न्याय विभागका अनुसार ३५० मिलियन डलरको बोइङ७८७ ड्रिमलाइनर र ६० मिलियनको गल्फस्ट्रीम जी६५० इआर अमेरिकी कस्टडीमा नभएको बताएको छ । यी दुवै हवाइजहाज अमेरिकामा नै निर्माण गरिएका र अमेरिकाले रुसी उडानमा प्रतिबन्ध लगाएपछि पनि उडान भरेको र लाइसेन्स लिई उडान भर्नुपर्नेमा लाइसेन्स पनि नलिएको आरोप अमेरिकी वाणिज्य विभागले लगाएको छ । यसै सम्बन्धमा विभागले जरिवाना स्वरुप लाइसेन्स नलिई उडाइएका प्रति उडानको ३ लाख २८ हजार १ सय २१ डलरको माग गरेको छ ।
अब्रामोव्रीच लगायतका रुसी धनाढ्यहरुले अमेरिकी निर्यात नियमहरु उल्ङ्घन गर्दा भारी जरिवाना नभरी छुट नपाउने वाणिज्य विभागका अधिकारी जोन सोन्डरम्यानले बताएका छन् ।
अब्रामोवीचलाई रुसी राष्ट्रपति भलादिमिर पुटिनको नजिकको व्यक्ति रहेको र युद्धमा सघाएको आरोप युरोपियन युनियनका देश र बेलायतले लगाउँदै आएको छ । अब्रामोवीचले उक्त आरोप साँचो नभएको र आफू पुटिनको नजिक नभएको बताउँदै आएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया