नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै बलियो बनेको छ ।
बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ ।
यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा बिहीबार नयाँ उचाइमा पुगेको हो ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो।
डलर महङ्गो हुँदा के असर हुन्छ ?
नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन् ।
डलरको भाउ बढ्दा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भएपनि त्यो भन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ । डलर महङ्गिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ ।
डलरको भाउ बढ्दा त्यसले पर्यटन मार्फत् हुने आम्दानी बढाइदिन्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ ।
यस्तै डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन् । डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्छ ।
नेपाल उपभोग्य वस्तुदेखि विलासी सामाग्री गाडीसम्म सबै आयातमा निर्भर रहकाले डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन्छ । नेपालका ६० प्रतिशत बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्नसक्ने हुनसक्छ ।
पछिल्लो समय करिब लाखको संख्यामा नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। शैक्षिक डिग्री हासिंँल गर्नका लागि उनीहरूले त्यहाँ विदेशी मुद्रामा रकम भुक्तानी गनुपर्छ । डलरको भाउ बढ्दा ती विद्यार्थीको परिवारमाथि आर्थिक बोझ थपिन्छ भने समग्रमा नेपाली अर्थतन्त्रमा नै त्यसको चाप पर्न जान्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया