जेष्ठ २९ गतेदेखि चौथो साकोस शिखर गोष्ठी आयोजना हुँदै

0
Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले यही जेष्ठ २९ र ३० गते द होटल सोल्टी काठमाण्डौंमा चौथो साकोस शिखर गोष्ठी आयोजना गर्ने भएको छ ।

“दीगो एवं एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि” भन्ने मल भाव र संकल्प सहित आयोजना हुन गइरहेको चौथो साकोस शिखर गोष्ठीमा सातै प्रदेशबाट ५० जिल्लाका ६५० भन्दा बढी अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु सम्बन्धित सरोकारवाला एवं विकास साझेदारहरुको सहभागिता रहनेछ । गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा उद्घाटन उद्घाटन हुने शिखर गोष्ठीको समापन समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको ऐक्यवद्धता सहित घोषणपत्र जारी हुनेछ । 

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय असल अभ्यासहरुको साझा बुझाई एवं आन्तरिकीकरणको साझा मञ्चको रुपमा नेफूस्कनले विसं २०६८ (सन् २०१२) सालमा प्रथम साकोस शिखर गोष्ठी आयोजना गरेको थियो । सो गोष्ठीको सिकाई एवं उपलब्धीको आधारमा प्रत्येक तीन वर्षमा शिखर गोष्ठी आयोजना गर्दै आइरहेको छ ।

गोष्ठीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न हुने गोष्ठीमा पाँच वटा सामुहिक सत्र र चार वटा ब्रेकआउट सत्र गरी जम्मा नौ वटा सत्रमा सञ्चालन हुने जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीलाई साकोस अभियानमा भएका उपलब्धीहरुको आदान प्रदान गर्न साझा मञ्चको विकास गर्ने उद्देश्यहरु रहेको संघका अध्यक्ष प्रत्युश पौड्यालले जानकारी दिए । 

यसैगरी गोष्ठी मार्फत नियामकीय प्रबन्धहरुको जानकारी र वित्तीय सहकारीमा पारेको प्रभावबारे साझा बुझाई विकास गर्ने, वित्तीय सहकारीका सिद्धान्त, संस्कृति र प्रणालीको बारेमा साझा बुझाई र प्रतिबद्धता विकास गर्ने, वित्तीय सहकारीहरुमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधिहरुको अनुकरण एवं हस्तान्तरण गर्ने, वित्तीय सहकारीहरुको समावेशी एवं स्मार्ट सेवा सुनिश्चित गर्ने र साकोस सञ्जाल भित्र सद्भावपूर्ण सहकार्य र उत्थानशिलता विकास गर्ने उदेश्य रहेको संघका महासचिव दामोदर अधिकारीले जानकारी दिए ।

नेफ्स्कुन नेपालका बचत तथा ऋण सहकारी संस्था जिल्ला बचत तथा ऋण सहकारी संघ र प्रदेश बचत तथा ऋण सहकारी संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने एक मात्र केन्द्रीय संघ हो । नेफ्स्कून विगत ३४ वर्ष देखि बचत तथा ऋण सहकारीको अभियान मार्फत समुदायको सामाजिक आर्थिक र सांस्कृतिक जीवनस्तर उकास्न क्रियाशिल रहको छ ।

नेफ्स्कूनमा हाल नेपालका ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने ६३ जिल्ला बचत संघ सहित करिब ४ हजार ३०० बचत तथा ऋण सहकारी संस्थाहरु मार्फत ३५ लाख व्यक्तिगत सदस्यहरु रहेको छन् । यस केन्द्रीय संघ विगत २०५३ (सन् १९९६) सालदेखि राष्ट्रिय सहकारी महासंघ, २०५५ (सन् १९९८) सालदेखि एशियाली ऋण महासंघ, २०७५ (सन् २०१८) सालदेखि विश्व ऋण परिषद्को सदस्य हुँदै सहकारी अभियानको विश्व सञ्जालमा क्रियाशिल रहेको छ ।

नेफस्कूनले आफ्नो स्थापनाकालदेखि नै सदस्य संस्थाहरुको प्रवद्र्धन, निरन्तर दीगो विकास र सशक्तिकरण मार्फत आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नयनका लागि विश्व ऋण परिषद्ले विकास गरेको बचत तथा ऋण सहकारीको सिद्धान्तका साथै एसियाली ऋण महासंघ र विश्व ऋण परिषद्ले विकास गरेका समाधानका औजारहरु अवलम्बन गर्दै आइरहेको छ ।

शिखर गोष्ठीमा थाईल्याण्ड, भारत र नेपालका विभिन्न विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने गोष्ठीले नेपालको साकोस अभियानको आगामी मार्गचित्र पहिचान गर्ने संघको विश्वास छ । विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल विश्व ऋणपरिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), राष्ट्रिय बचत तथा ऋण सहकारी संघनाकफोक (दक्षिणकोरिया), क्यानेडियन बचत तथा ऋण सहकारीसंघ (डिजार्डियन) लगायतका सफल अभ्यास गरेका संघहबाट प्राविधिक पृष्ठपोषणका आधारमा सम्पन्न हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ जेठ २०७९, बिहीबार  १९ : २३ बजे