किस्ता तिर्न रकम नपुगेपछि निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

0
Shares

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन ९आइओसी०लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ८ र डिजेलरमट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

बुधबारसम्म निगमले आइओसीलाई २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमले गत सातामात्र पेट्रोल, डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार  ०७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।