पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको ल्यान्डफिल साइट सारिने

0
Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको पोखराको ल्यान्डफिल साइट सारिने भएको छ। पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले ल्याण्डफिल साइट पोखरा-३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा छ। विमानस्थल सञ्चालनका लागि ल्यान्डफिल सार्नैपर्ने देखिएकाले प्राथमिकतामा राखेर निर्णय गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलराम रिजालले बताए।

उनका अनुसार बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने र यसरी निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघसस्था र रेष्टुराँका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दुईपक्षीय सम्झौता गर्ने निर्णय भएको छ।

यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चानमा ल्याउने भएको छ। सडकका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको छ।

छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालीन सेवा तत्काल गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी महानगरले तालचोक-बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको रिजालले जानकारी दिए।

त्यस्तै झण्डै तीन किलोमिटरको चार लेन सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ। -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ जेठ २०७९, शनिबार  १४ : ५० बजे