गत सातामा ३० अंकले घटेको नेप्से यो साता बढ्ला त ?

0
Shares

गत साता नेप्से १.४७ प्रतिशत अर्थात ३०.५४ अंक घटेको छ । अघिल्लो साता २०७८।७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८ दशमलव १६ बिन्दुमा झरेर बन्द भएको छ । बुधबार ६० अंकले बढेको नेप्से बाँकी चार कारोबार दिन घटेको थियो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा लगानीकर्ताको मागहरुको उचित म्बिोधन हुन नसक्दा पछिल्लो समय बजारमा निरन्तर नेप्से घट्दो क्रममा रहेको छ ।

यसअघिको उच्चतम बिन्दु ३२२७ बाट नेप्से करिब ३७ प्रतिशतले घटिसकेको छ । लगानीकर्ताको दोस्रो बजारमा गरिएको लगानी ३० प्रतिशतभन्दा बढीलदे घटेपछि यसअघिका माग सम्बोधन गराउनकै लागि सेयर लगानीकर्ता सडकमा ओर्लिएका छन् ।

चालु आव सकिन अब एक महिना मात्र बाँकी रहनु, पछिल्लो समय सरकारी खर्चको निकासका कारण बैंकिङ्ग प्रणालीमा निक्षेपको सहजता र लाभांश सिजन नकिएका कारण पनि नेप्से थप नघट्ने आंकलन लगानीकर्ताहरुके छ । ऋण लिएर सेयर खरीद गरेका लगानीकर्ताले पनि अहिलेसम्म सेयर बिक्री गरिसकेको अवस्थाले आगामी दिनमा विस्तारै बजारले लय समात्ने अनुभवी लगानीकर्ताहरु बताउँछन् ।

अबको तीन महिनाभित्र कम्पनीहरुले लाभांश वितरण गरिसक्ने र चालु आवको ११ महिनाका आधारमा कम्पनीले गर्ने नाफा र वितरण गर्ने लाभांशको प्रक्षेपणकाअ आधारमा पनि सेयर बजारमा जेठ असारलाई लगानीको सिजनको रुपमा लिने गरिन्थ्यो । तर यो वर्ष तरलता अभाव, बढ्दो ब्याजदर र नीतिगत रुपमा सम्बोधन हुन नसक्दा पनि बजार ओरालो लागिरहेको अवस्था छ ।

गत साता नेप्से घटेपनि दैनिक कारोबार रकम भने बढेको छ । दैनिक औषत कारोबार रकम ६.२८ प्रतिशत बढेर १.३२ अर्ब कारोबार हुँदा सातामा साढे ६.६० अर्ब बढीको सेयर कारोबार भएको छ ।  नेप्से घटेपछि कुल बजार पूँजीकरण ४२ अर्ब रुपैयाँले घटेर २९ खर्ब १७ अर्बमा झरेको छ । अघिल्लो साता कुल बजार पूँजीकरण २९ खर्ब ५९ अर्ब ४० लाख रुपैयाँ रहेको थियो ।

यस साता १३ उपसमूहमध्ये ११ उपसमूहगत सूचक घट्दा २ वटा मात्र बढेको छ । लघुवित्त सर्वाधिक १.१७ प्रतिशत र व्यापार ०.४७ प्रतिशत बढेको छ । बैंकिङ्ग सबैभन्दा बढी २.६७ प्रतिशत घटेको छ । उत्पादन तथा प्रशोधन २.११ र विकास बैंक २.०३ प्रतिशतले घटेको छ ।

गत साता नेप्सेमा ४ कम्पनीका २ करोड १२ लाख २ हजार २९२ दशमलव ९३ कित्ता सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद, आईएमई जनरलको चुक्ता पूँजीका ४० प्रतिशत बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद, नेपाल लाइफको चुक्ता पूँजीको १४ प्रतिशत बराबरले हुन आउने १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस सेयर र सिवाईसी नेपाल लघुवित्तको वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य गत साता सर्वाधिक ४६.४० प्रतिशत बढेर २८२९.६० रुपैयाँ पुगेको छ । यस्तै तेह्रथुम पावरको ८.७६, सिटिजन्स म्युचुअल फण्डको ६.७५, बैंक अफ काठमाण्डू ६.०८ र लक्ष्मी लघुवित्तको सेयरको भाउ ५.५८ प्रतिशतले वृद्धि भएको छ ।

उता मर्जर सम्झौतका कारण रोक्का भई कारोबार खुलेको हिमालयन बैंकको सेयरमूल्य सर्वाधिक ११.८१ प्रतिशत घटेर ३१६.५० रुपैयाँमा झरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक ७.६७, युनिलिभर नेपाल ६.०१, समीट लघुवित्त ५.६३ र शिवम् सिमेन्टसको सेयरमूल्य ५.४४ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार  ०९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।