मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीबाट आइतबार विद्युत उत्पादन बन्द हुने

0
Shares

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको छ । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने छ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी–मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने छ ।

पहिरोले मध्यमर्स्याङदी–मर्स्याङदी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ । करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ ।

आइतबार मध्यमर्स्याङदीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ । शुक्रबार करिब साढे २ सय मेगावाट विद्युत निर्यात हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ जेठ २०७९, आइतबार  ११ : २५ बजे