सहकारीमा गुनासा बढ्न थालेको भन्दै सचेत हुन आग्रह

0
Shares

सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीमा विभिन्न गुनासा बढ्न थालेको भन्दै सचेत रहन सहकारी सञ्चालकहरुलाई आग्रह गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहमा रजिस्ट्रार पण्डितले सहकारीमा अनुत्पादक क्षेत्रमा लगानी बढेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासा बढ्न थालेको बताए ।

उनले सहकारीहरुलाई आफूलाई बैंक नठान्न चेतावनी दिए । यस्तै उनले बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने पनि बताए । सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उनले सबैमा आग्रह गरेका छन् ।सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने उनको धारणा थियो ।

बचत ऋण ऐनको आवश्यकता छः कँडेल

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै बचत ऋण ऐनको आवश्यकता औँल्याएका छन् ।

सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । सरकारलाई आयकरको दर पुरानै कायम गर्न समेत उनले आग्रह गरे ।

त्यस्तै कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सिर्जना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गरिने बताए । उनले छुट्टै साकोस ऐनको आवश्यकता औँल्याए ।

दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७०० बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । चौथो शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम् प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार  १८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।