कम्पनी छनौटमा ध्यान दिनसके घट्दो बजारबाटै लिन सकिन्छ फाईदा, कसरी छनौट गर्ने कम्पनी ?

0
Shares

धितोपत्रको दोस्रो बजारमा लगानीगर्ने अधिकांश लगानीकर्ताको ध्यान नेप्से सूचक कति बढ्यो वा घट्यो भन्नेमा नै केन्द्रीत हुने गरेका छन् । तर, स्मार्ट लगानीकर्ताहरुले भने समग्र सूचक भन्दा पनि आफुले लगानी गर्ने कम्पनीको इन्डिकेटरको बारेमा अध्ययन गरेर लगानीको निर्णय गर्ने गर्छन् ।

नेप्से सूचक बढ्दा सबै कम्पनीको सेयर मूल्य बढ्दैन भने सूचक घट्दा सबै कम्पनीको सेयर मूल्य पनि घट्दैन् । बलिया र राम्रा कम्पनी छनौट गर्न सकेमा नेप्से सूचक ठूलो अंकले तलमाथि हुँदा पनि शेयर मूल्य प्रभावित नहुने धेरै कम्पनीहरु छन ।

बजार बढ्दा पनि सबै कम्पनीको सेयर मूल्य नबढ्नसक्छ भन्ने एउटा नेप्सेको उतार चढाव र नेप्सेमा सूचीकृत कम्पनीको मूल्यमा आएको परिवर्तनलाई अध्ययन गर्ने हो भने भेट्टाउन सकिन्छ । चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेको छ ।  भदौदेखि धमाधम सूचीकृत कम्पनीहरुको लाभांश घोषणा हुने भएकाले पनि यो समय राम्रा लाभांश दिन कम्पनीमा लगानी गर्ने उत्तम अवसर समेत रहेको बताइन्छ । अहिले घट्दो बजार रहेको र लाभांश सिजनको बेला सेयर बजार बढ्दा त्यसबाट लगानीकर्ताले राम्रै पूँजीगत लाभ समेत प्राप्त गर्न सक्नछन् । धेरे सूचीकृत कम्पनीहरुको मूल्य आम्दानी अनुपात २० भन्दा तल आइसकेको अवस्था रहेकाले समेत सेयर बजारमा लगानी गर्ने नयाँ लगानीकर्ताका लागि घट्दो बजार एउटा अवसर समेत हो ।

नयाँ वर्ष २०७९ लागेयता नेप्से ४७६.३४ अंकले घटेको छ । चैत २९ गते २५२४.५० बिन्दुमा रहेको नेप्से जेड २७ गते शुक्रबार आइपुग्दा १८.८७ प्रतिशतले घटेर २०४८१६ बिन्दुमा झरेको छ । तर यस अवधिमा धेरै कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा कम घटेको हुनसक्छ ।
समग्र सूचक र समूहगत सूचक घट्दा पनि तीनै समुहगत सूचकमा सूचीकृत कम्पनीको सेयरमूल्यमा सो अनुपातमा गिरावट आएको हुँदैन । यसले के देखाउँछ भने समग्र सूचक घट्दैमा वा सबै कम्पनीको सेयरमूल्य सो अनुपातमा घट्दैन र सूचक बढ्दैमा सबै कम्पनीको सेयर मूल्य बढ्दैन ।

यसैगरी धेरै पूँजी भएका र नियमित कारोबार हुने कम्पनीहरुको दैनिक कारोबार विश्लेषण गरेर पनि सेयर कारोबारमा संलग्न हुन सकिन्छ । नियमित कारोबारमा आएका कम्पनीको सेयरमूल्य र कारोबार कित्ता तथा संख्याका आधारमा समेत कम्पनीहरुको उच्च माग रहेको वा धेरैले बिक्री गर्दै बाहिरिएका अवस्था पत्ता लगाउन सकिन्छ । प्राविधिक विश्लेषणले पनि लगानीकर्तालाई लगानीका लागि निर्णय गर्न सहयोग पुरयाउँछ । तर यस्ता विश्लेषणहरु अनुभवी र सूचीकृत विश्लेषकहरुको मात्र अवलम्बन गर्नुपर्ने हुन्छ ।

राम्रा र सुरक्षित कम्पनी कसरी छनौट गर्ने ?

नेपालको दोस्रो बजारमा २३० भन्दा बढी कम्पनी सूचीकृत रहेका छन् । यसमध्ये राम्रो सेयर छान्न नयाँ लगानीकर्ताका लागि केही असहज हुनसक्छ । दोस्रो बजारमा लगानीगर्नका लागि राम्रो कम्पनी छान्ने केही उपायहरु यसप्रकार रहेका छन् ।

बजार पूँजीकरण धेरै भएको कम्पनीको सेयर राम्रो मानिन्छ । साथै ठूलो पूँजी भएको कम्पनीमा चलखेल असम्भव हुने हुँदा यस्ता कम्पनीमा कम जोखिम हुनेगर्छ । यसैगरी वित्तीय अवस्था राम्रो भएको कम्पनी छनौट गरेर लगानी गर्न सकेमा पनि फाइदा लिन सकिन्छ । यसका लागि कम्पनीहरुले प्रकाशित गरेका वित्तीय विवरणहरुको अध्ययन गर्नुपर्छ ।

संस्थागत सुशासन राम्रो भएका कम्पनीको सेयरमा लगानीकर्ता पनि जोखिम कम हुने गर्छ । विगतमा नियामकीय निकायबाट कुनै कारबाहीमा नपरेका कम्पनीहरु, स्वच्छ छवीका प्रबद्र्धक र सञ्चालक भएका कम्पनीहरु नै बजारका राम्रा कम्पनी मानिन्छन् । विगत तीन चार वर्षयतादेखि नियमित रुपमा लाभांश बाँडेका साथै लाभांशदर बढाउँदै लगेका कम्पनीहरु छान्न सकिन्छ । यस्ता कम्पनीमा लगानीगर्दा कम्पनीको मूल्य घटेमा पनि लाभांशले राहत दिन सकोस् ।

त्यस्तै कम्पनीकोहरुको नाफा, जगेडा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, कुल नेटवर्थ तथा सेयर मूल्यमा भएको उतारचढावको अध्ययन गरेर पनि उपयुक्त कम्पनी छनौट गर्न सकिन्छ ।

कुन कम्पनीको सेयर किन्दा राम्रो होला ?

नेपालको धितोपत्र बजारका लगानीकर्ताले आफुले लगानी गर्न चाहेका कम्पनीहको आधारभुत अवस्थाबारे जानकारी नराखी हल्ला र अरुको लहैलहैमा लाग्दा अप्रत्याशित नोक्सानी र जोखिम बहन गरेको अवस्था पनि छ ।  कम्पनीको वास्तविक अवस्था पत्ता लगाउने, तथ्य विश्लेषण गर्ने र जोखिम मूल्याङ्कन गरेर लगानी गर्ने गरेमा अहिलेको बजारबाट पनि राम्रा र सुरक्षित कम्पनीहरु छनौटको अवसर कायमै छ ।

नेपालको पूँजी बजारको अवस्था हेर्दा सबैभन्दा भरपर्दा र चलायमान कम्पनीहरु भनेका वाणिज्य बैंकहरु नै हुन् । अन्य कम्पनीहरुको तुलनामा वाणिज्य बैंकहरुको सेयरमा कम जोखिम हुनुका साथै धितोपत्रहरु सहजै बेच्न सकिने, धितो राखेर कर्जा लिन सकिने अवस्था रहन्छ । वाणिज्य बैंकहरुको चुक्ता पूँजी, कमाई, जोखिम ब्यवस्था र लाभांश बाँड्नसक्ने क्षमता लगायतका आधारभुत कुराहरुको विश्लेषण गरेर लगानीको निर्णय लिन सकिन्छ ।

यसैगरी अन्य समुहमा सूचीकृत कम्पनीहरुमा पनि बढी चुक्ता पूँजी भएका, निरन्तर लाभांश वितरण गर्दै आएका, पछिल्लो ५२ हप्तामा सेयरमूल्यमा उच्च उतारचढाव नभएका कम्पनी, जगेडा कोष र प्रतिसेयर आम्दानी धेरै भएका कम्पनीहरुलाई विविधिकरण गरेर लगानी गर्न सकेको खण्डमा दोस्रो बजारबाट लाभ लिन सकिन्छ ।

चुक्ता पूँजी र खुद नाफा

चुक्ता पूँजी कम्पनीहरुको लागि आधार हो तर चुक्ता पूँजी धेरै हुँदैमा सो कम्पनीको खुद नाफा धेरै हुन्छ भन्ने भ्रम पाल्नु हुँदैन् । सम्बन्भीत कम्पनीले नाफा कसरी बढाएका छन् भन्ने पनि हेरिनुपर्छ । कम्पनीहरुले नियमित कारोबार (उदेश्य अनुसारको कामबाट हुने आय) बाट नाफा बढाउँदै लगेका छन् कि छैनन् हेर्नुपर्छ ।

बैंकहरुको हकमा ब्याज आम्दानीबाट नाफा आर्जन गरेको छ की गैर बैंकिङ आम्दानीबाट नाफा बढाएका छन् हेर्न सकिन्छ । यस्तै जलविद्युत कम्पनीहरुले विद्युत बिक्रीबाट आम्दानी गरेका छन् कि अन्य स्रोतबाट आम्दानी बढाएका छन् विश्लेषण गर्न जरुरी हुन्छ । यस्ता विषयहरुमा सेयर लगानीकर्ताले अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । बीमा कम्पनीहरुको हकमा संकलित बीमा प्रिमियमा आएको बढोत्तरी र नाफा, होटलको हकमा सेवा बिक्रीको आम्दानी आदीबाट हेर्न सकिन्छ ।

बैंकहरुले ब्याज आम्दानी, संचालन आम्दानी, शुल्क, कमिशन, बिदेशी मुद्राको कारोबार जस्ता स्रोतहरुबाट कति कमाएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिपय बैंकहरु क्रमबद्द रुपमा नाफा बढाउँदै लगेको पाइन्छ भने कतिपयले खराब कर्जा उठाएर तत्कालका लागि खुद नाफा देखाउने गरेका पनि हुन्छन् । बैंकहरुको नाफा किन र कसरी बढ्यो भन्ने पनि सेयर लगानीकर्ताका लागि अध्ययनको एउटा विषय हुनसक्छ । बैंकहरुको कोषको लागत बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज र ऋणीहरुबाट लिने ब्याज अन्तरले पनि बैंकहरुको कमाईमा असर पार्ने गर्छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुको स्प्रेडदर ४.४० प्रतिशत हुनुपर्छ ।

निक्षेप तथा कर्जा विस्तार

बैंकहरुको प्रगति निक्षेप संकलन र कर्जा बिस्तारको अवस्था हेरेर पनि मापन गर्न सकिन्छ । निक्षेप संकलन बढाउन नसक्नेले कर्जा पनि आक्रामक रुपमा विस्तार गर्न सक्दैन र खुद नाफा पनि बढाँन सक्दैन भन्ने देखिएको छ । विगतका वर्षहरुको तुलनामा निक्षेप र कर्जाको आकार समानुपातिक रुपमा बढाउँदै लगेका बैंकहरुका सेयरमा गरिएको लगानीमा कम जोखिम देखिन्छ । निक्षेप र कर्जा बढ्नु भनेको बैंकको व्यवसाय बढ्नु हो व्यवसाय विस्तारले बैंकको कमाईमा समेत प्रभाव पार्ने गर्छ ।

प्रतिसेयर आम्दानी

नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रतिसेयर आम्दानी जति बढाउँदै लग्छन् सेयर लगानीकर्ताहरुले त्यत्ति नै धेरै प्रतिफल पाउने गर्छन् । यसले प्रतिसेयर आम्दानी बढाउँदै लगेका कम्पनीहरु लगानीकर्ताका लागि उपयुत्त हुनसक्छन् ।

कतिपय कम्पनीहरुले पूँजी बढाउँदा प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न सकेका हुँदैनन् । पूँजी बढाउँदा समेत प्रतिसेयर आम्दानी सन्तुलनमा राखेका कम्पनीहरु सेयर लगानीकर्ताका लागि राम्रा मानिन्छन् । यस्ता बैंकहरुले एकनासको लाभांश दिने क्षमता राख्ने गर्छन् ।

बैंकहरुको हकमा जोखिम ब्यवस्थापन तथा खराब कर्जालाई पनि मध्यनजर गर्नुपर्छ । बैंकहरुले प्रवाह गरेको कर्जाको साँवा ब्याज तोकिएको समयमा असुल भएन भने यस्ता कर्जाहरु निस्क्रिय कर्जामा पर्छन् । यस्ता निस्क्रिय कर्जा वापत बैंकहरुले तोकिए अनुसारको रकम जोखिम ब्यहोर्ने कोषमा छुट्याउँनु पर्ने हुन्छ । बढी रकम प्रोभिजन गर्नु पर्यो भने बैंकहरुको नाफा घट्छ । राष्ट्र बैंकले निस्क्रिय कर्जाको अनुपात पाँच प्रतिशत भन्दा तल हुनुपर्ने गरी तोकेको छ । पाँच प्रतिशत भन्दा बढी निस्क्रिय कर्जा भएका बैंकहरुलाई सामान्यतया राष्ट्र बैंकले लाभांश बाँड्ने अनुमति पनि दिँदैन भने सीमा नाघेका राष्ट्र बैंकले कारबाही समेत गर्छ ।

यस्तै पछिल्लो चरणमा एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्दा इम्पेरिमेन्ट चार्ज शिर्षकमा बैंकहरुले विभिन्न जोखिम वापतको व्यवस्था राख्नुपर्नेहुन्छ । यो शिर्षकमा बढी रकम भएका र इम्पेरिमेन्ट चार्ज बढ्दै गएका बैंकहरुले पनि लगानीकर्तालाई दिने प्रतिफल घट्ने गर्छ ।

जगेडा कोष

कम्पनीहरुको लगानी विस्तार र जोखिम ब्यवस्थापन गर्न जगेडा कोषले महत्वपूर्ण भुमिका खेल्ने गर्छ । पूँजी, निक्षेपका साथै जगेडा कोष पनि कुन बैंक कति बलियो छ भनेर नाप्ने आधार हो । त्यसैले कम्पनीहरुले खुद नाफाबाट आर्जित सबै रकम लगानीकर्ताहरुलाई नबांडी केही रकम यस्तो कोषमा राख्ने गर्छन ।

लगानीकर्तालाई लाभांश बाँड्न नपाउने कम्पनीहरुले खुद नाफालाई जगेडा कोषमा राख्ने गर्छन भने लाभांश बाड्न पाउने अबस्थामा त्यो कोषको पनि उपयोग गर्छन् । जुन कम्पनीको जगेडा कोष जति बढी हुन्छ त्यो कम्पनी जोखिम लिन त्यति सक्षम हुन्छन् भने लगानीकर्तालाई भविष्यमा वितरण गर्ने लाभा.शमा समेत उनीहरु राम्रा मानिन्छन् ।

विगतका वर्षहरुमा दिएको लाभांश

राम्रा कम्पनीहरुले छनोट गर्ने अर्को औजार हो विगतको लाभांश इतिहास । राम्रो कम्पनीहश्रले लगानीकर्ताहरुलाई लाभांश दर बढाउँदै लाने गर्छन् । राम्रो नाफा गरेका कम्पनीहरुले लगानीकर्ताहरुलाई सन्तुष्ट बनाउने गरी लाभांश दिनसक्छन् ।

पूँजी पर्याप्त भएका र वर्षेनी बोनस सेयर र नगद लाभांशमा संतुलन गरी वितरण गर्दै आएका कम्पनीहरु लगानीकर्ताका लागि उपयुक्त हुनसक्छन् । धेरै बोनस वितरण गर्ने कम्पनी पनि सधैँ राम्रो हुँदैनन् ।

बाेनस वितरणपछि कम्पनीको सेयर स्वामित्व बढ्न गई धेरै जनाको हातमा सेयर पुग्छ भने हिजोको दिनमा भएको स्वामित्व भोलिका दिनमा उक्त सेयरधनीको हातमा नरहने हुँदा सो कम्पनीको स्वामित्वसँगै प्राप्त गर्ने लाभांश समेत घट्न जान्छ ।

अन्य आधारहरु

सेयर बजारमा अल्पालिन तथा दिर्घकालीन प्रकारका लगानीकर्ता हुन्छन् । यी दुबै लगानीकर्तालाई कम्पनी छनौटको एउटै सुत्रले काम नगर्न पनि सक्छ । कम्पनीमा कुन प्रकारले लगानी गर्न लागिएको त्यसले पनि कम्पनी छनौटमा फरक पार्छ ।

विशेषत वाणिज्य बैंकहरु भनेका अल्पकालिन भन्दा दीर्घकालिन लगानीका लागि नै उपयुक्त मानिन्छन् । अन्य कम्पनीहरुमा जस्तो वाणिज्य बैंकहरुको सेयरमा तीब्र उतारचढाव नहुने भएकाले पनि दीर्घकालिन लगानी गर्न सकिन्छ । केही वाणिज्य बैंकहरुले आफ्नो कर्जा विस्तारमा आवश्यक पर्ने पूँजीका लागि सहायक हुने गरी बण्ड र डिबेन्चर पनि जारी गरेका छन् । यस्ता बैंकहरुले आकर्षक बोनस शेयर दिने सम्भावना रहन्छ ।

अर्कोतर्फ सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लगानीलाई पनि आधार बनाएर सेयर बजारमा लगानी गर्न सकिन्छ । त्यस्तै सामूहिक लगानी कोषहरुले मासिक रुपमा प्रकाशित गरेका वित्तीय विवरणहरुलाई आधार मानेर पनि दोस्रो बजारमा लगानी गर्न सकिन्छ ।
म्युचुअल फण्डले राम्रो वित्तीय अवस्था भएका कम्पनीमा लगानी गरेको हुन्छ भन्ने मान्यताका आधारमा लगानीका लागि यी कम्पनीको छनौट गर्न सकिन्छ । तर कतिपय सामूहिक लगानीकोषहरुले भने लगानीकर्ताहरुले आधार बनाउने प्रकारको प्रस्तुती दिन सकेका छैनन् ।

नेप्सेको वर्गीकरणमा उच्च श्रेणीमा परेका कम्पनी

नेपाल स्टक एक्सचेन्जले हरेक त्रैमासमा कम्पनीहरुको चार प्रकारमा वर्गिकरण गर्ने गर्दछ । जसअनुसार ए वर्गमा वर्गीकरण गरेका कम्पनीमध्येबाट पनि कम्पनीको छनौट गर्न सकिन्छ । जसको सूची नेप्सको वेवसाइटमा पनि हेर्न सकिन्छ । यी कम्पनी कम्तिमा पनि तीन वर्षदेखि नाफामा छन् र नेटवर्थ ऋणात्मक छैन भन्नेमा विश्वस्त हुन सकिन्छ । ए भन्दा बी र बी भन्दा जी र जेड समुहमा परेका कम्पनीहरु तुलनात्मक रुपमा लगानीका लागि बढी जोखिममा रहेको हुनसक्छन् ।

यसैगरी लगानीयोग्य कम्पनीको छनौट गर्दा वाणिज्य बैकले सेयर धितो राखेर ऋण दिनका लागि छनौट गरेका कम्पनीलाई पनि आधार बनाउन सकिन्छ । सामान्यतया वाणिज्य बैकले सेयर धितो राख्दा वित्तीय रुपमा मजबुत र बजारमा उच्च तरलता भएका कम्पनीको सेयर धितो राखेर ऋण दिने भएकाले त्यस्ता कम्पनीमा गरिएको लगानीमा केही हदसम्म जोखिम कम हुनसक्छ । बजारमा यसरी गरिने लगानी प्राय एकतर्फी प्रकृतिको हुनेगर्छ । यसबाट खरिद सजिलै गर्न सकिन्छ तर बिक्री गर्ने समयको पहिचान गर्न भने सकिँदैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० जेठ २०७९, सोमबार  १४ : २२ बजे