
नेपाल उद्योग वाणिज्य महासंघले इण्डोनेशिया र चिलीको लगानीका लागि आग्रह गरको छ । दुवै देशका राजदुतहरुसँगको भेटमा महासंघले आपसी सम्बन्ध विस्तार, व्यावसायिक तथा लगानी लागि आग्रह गरेको हो।
महासंघका अध्यक्ष शेखर गोल्छा सहित पदाधिकारीहरू र नेपालका लागि इण्डोनेशियाका राजदुत हेरू हर्तान्तो सुवोलो बीच महासंघ सचिवालयमा भेटवार्ता भएको हो। भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, महानिर्देशक गोकर्ण राज अवस्थीको उपस्थिति थियो ।
त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष दिनेश श्रेष्ठसंग नेपालका लागि चिलिका राजदुत जुआन रोलाण्डो अङगुलो मोनसाल्भेले महासंघ सचिवालयमा भेटवार्ता गरेका हुन।
ती दुवै भेटवार्तामा महासंघकातर्फबाट नेपालमा इण्डोनेशिया र चिलीको लगानीका लागि कुटनीतिक माध्यमबाट सहयोग हुन आग्रह गरिएको थियो । दुवै मुलुकसंग नेपालको द्विपक्षीय व्यापारको आंकडा अत्यन्त न्यून रहेको पाइन्छ ।
महासंघमा उपलव्ध पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपाल इण्डोनेशिया बीचको आयात–निर्यात क्रमशः १७ अर्ब र ६ करोड देखिन्छ भने नेपाल चिली आयात–निर्यात क्रमशः ९ करोड र ९३ लाख मात्र छ । संयुक्त लगानी नगण्य नै देखिन्छ । तथ्यांक अनुसार नेपालमा इण्डोनेशियाको ३५ करोड र चिलीको ३० करोडको मात्र संयुक्त लगानी रहेको छ ।
भेटवार्तामा द्विपक्षीय व्यापार विस्तारमा विशेष जोड दिइयो । के गर्दा व्यापार विस्तार गर्न सकिन्छ त्यसमा सहयोग गर्न हामी तयार छौं, भेटवार्तामा महासघकोतर्फबाट प्रतिवद्धता व्यक्त भयो । यसका लागि दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्ध विस्तार, व्यावसायिक तथा लगानी भ्रमणको आदान प्रदानमा जोड दिइएको महासंघले जनाएको छ ।

नेपालको भौगोलिक अवस्थिति र यहांको सस्तो श्रम सक्तिका कारण नेपालमा वस्तुु उत्पादन गरी भारत तथा चीनको बजारमा निर्यात गर्न सकिने पर्याप्त सम्भाव्यता रहेको पनि जानकारी गराइएको महासंघले बताएको छ । नेपाल सरकार र निजी क्षेत्र वाह्य लगानी आकर्षणमा निरन्तर लागीरहेको र सरकारी नीति पनि सोही अनुसार वाह्य लगानी मैत्री रहेको भेटवार्तामा बताइयो । नेपालमा कृषि, पूर्वाधार विकास, पर्यटन, उर्जा, सूचना तथा प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको अथाह सम्भाव्यता रहेको पनि स्पष्ट पारियो।
छुट्टाछुट्टै भेटवार्तामा राजदूतहरूले आपसी आर्थिक तथा निजी क्षेत्र बीचको सम्बन्ध विस्तार, लगानी आकर्षणमा आफ्नोतर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । साथै दुवै देशका निजी क्षेत्र बीच समन्वयनका लागि पनि सहयोग गर्ने विश्वास समेत दिलाए । दुवै भेटवार्ता शुक्रवार सम्पन्न भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया