लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वली महिलामाथि हातपातपछि नियन्त्रणमा (भिडियो सहित)

0
Shares

महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिला र उनकी छोरीलाई घरमा गएर कुटपिट गरेपछि उनलाई नियन्त्रणमा लिएको हो । बिहान करिब ८ बजे ती महिलाको घरभित्र प्रवेश गरेर हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कुटाइ खाने महिलाको श्रीमान मन्त्री वलीको प्रेमी भएको बताइएको छ ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी भनिएका एकराज बस्नेतको घरमा गएकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई हातपात गरेको आरोप लागाइएको छ । तर घटना हुँदा एकराज घरमा थिएनन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।

एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ जेठ २०७९, मंगलबार  १३ : १६ बजे