पर्यटनमन्त्री आले भन्छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सफाइको नमूना बनाउँछौं

0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताएका छन् ।

काठमाण्डौं विमानस्थलमा कार्यरत निजी क्षेत्रका १५२ जना सरसफाई सम्बन्धी कामदार तथा कर्मचारीलाई दिइएको दुई हप्ते अन्तर्राष्ट्रियस्तरको सफाइ प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री आलेले साे बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरु आउँदा फोहरका कारण अब नाक छोप्नुपर्ने अवस्था नहुने उनकाे भनाइ छ ।

उनले भने, “हामीले एअरपोर्टमा पर्यटक आउँदा फोहरले नाक छोप्नुपर्ने अवस्थाको अन्त गरेका छौं, विमानस्थल विमान सरसफाइ राख्ने जिम्मा सरसफाइकर्मीको हातमा छ, आफूले लिएको सरसफाइ सम्बन्धी तालिमको भरपुर प्रयोग गर्नुस्, के सहयोग चाहिन्छ, म सहयोग गर्छु ।”

विमानस्थलमा सरसफाइसम्बन्धी टेन्डर गर्दा प्रत्येक वर्ष ठेकेदार फेरिने तर सरसफाइ कर्मचारी उही रहने भएकाले विमानस्थल सधैँ सफा राख्ने जिम्मा सफाइकर्मी कै हातमा भएकाले देशको प्रतिष्ठा राख्न विमानस्थल सधैँ सफा राख्नुपर्ने मन्त्री आलेले आग्रह गरे ।

विमानस्थलमा सरसफाइ सम्बन्धी काम गर्ने कर्मचारीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्था मिलाउन समेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिए । मन्त्री आलेले सरसफाइको काममा कामदार मात्रै दोषी नहुने भन्दै यहाँका कर्मचारी, सुपरभाइजरहरुले पनि कामको गुणस्तार हेर्नुपर्ने र त्यस्तै सेवा दिनुपर्ने बताए ।

यसैगरी मन्त्री आलेले आफुले दिएको निर्देशन बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न विकासका कामहरु भएका र थुप्रै राम्रा कामहरु भएको दाबी समेत गरे । विमानस्थलमा ब्यागेज बेल्टदेखि टर्मिनल भवनको शिलान्यास गरिनाका साथै पानीका फोहरा निर्माणका कामहरु पनि आफ्नै निर्देशनमा भएको मन्त्री आलेको भनाइ थियो ।

उक्त सरसफाइ प्रशिक्षणको पहिलो चरणमा आज ७० जनालाई प्रमाणपत्र दिइएको थियो । यस अभियानका १५२ जनामध्ये अर्को चरणको तालिम आगामी बिहीबारदेखि सुरु हुनेछ । सरसफाईसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक खेम शर्माले सरसफाईसम्बन्धी प्रशिक्षण दिइरहेका छन् ।

यसअघि पनि पाँच वर्षअघि उनले आफ्नो नेतृत्वको खेम्स क्लिनिङ नामक सरसफाई सम्बन्धी कम्पनी मार्फत् स्वयंसेवी रुपमा यस विमानस्थलको सफाई गरी एक नमूना प्रस्तुत गरेका थियो । यस प्रशिक्षण एवं तालिमबाट विमानस्थल थप सफा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ जेठ २०७९, मंगलबार  १७ : ४७ बजे