सेयर लगानीकर्ताको माग सरकारले सम्बोधन नगरेपछि तिलक कोइरालाले आजदेखि आमरण अनशन थाल्दै

0
Shares


पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज (असार १ गते) देखि आमरण अनशन सुरु गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा बिहान ११ बजेदेखि कोइराला अनसन बस्ने भएका हुन् ।

पूँजी बजारको विकास र विस्तारका लागि यसअघि दुई पटक आमरण अनसन बसिसकेका कोइरालाले बुधबारदेखि तेस्रो आमरण अनशन थाल्न लागेका हुन् । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सार्वजनिक गरेका १९ बुँदे माग तत्काल पूरा नभए बुधबारदेखि आमरण अनसन बस्ने यसअघि नै घोषणा गरेका थिए । उनले यस आन्दोलनलाई अन्तिम र निर्णायक भनेका छन् ।

आमरण अनसनको पूर्वसन्ध्यामा मंगलबार अनामनगरमा सम्पन्न भएको लगानीकर्ताका ९ वटा संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठकले आन्दोलनमा अझ सशक्त पार्नलगानीकर्ताले उठाएका १९ बुँदे माग पूरा गराउन आमरण अनशन बस्नेबारे अन्तिम निर्णय र्ने अधिकार तिलक कोइरालाई दिने, अनशनस्थलमा लगानीकर्ताको नियमित र व्यापक सहभागिता गराउने, तय भएका अन्य आन्दोलनका कार्यक्रम पनि सञ्चालन गर्ने र त्यसको व्यवस्थापन गर्न आर्थिक समिति, व्यवस्थापन समिति, प्रचार समिति र मिडिया समिति गठन गर्ने र आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै लगानीकर्तालाई आन्दोलनमा सक्रिय सहभागिता र आआफ्नोतर्फबाट सहयोग गर्न आह्वान गर्ने सहितका तीन निर्णयहरु गरेको छ ।

सेयर बजार बढाउन वा घटाउन आम्दोलन नगरिएको बताउँदै कोइरालाले सेयर बजारका लागि चाहिने नीति, नियम, प्रविधि र पुर्वाधारको सहि बन्दोबस्त र सहि नियमन हुनुपर्ने बताए ।

उनले भने, “सरकारले साढे ३ वर्ष पहिला नै गर्छु भनेको काम गरेन, पुँजीबजारको विकास र विस्तारका लागि चाहिने ५८ बुँदे मागमा उल्लेख भई सरकार आफैँले गर्छु भनेको कामहरु समय र काम गर्ने निकाय तोकेर अर्थ मन्त्रालयले निर्देशन दिएका निकायहरुले काम नगर्दा अहिले पूँजी बजारमा ठूलो संकट आयो । ती संकट समाधान गर्नका लागि ती कामहरु तत्काल हुनुपर्छ भने हामीले हरेक दिन माइतिघरमा आन्दोलन गर्दै आयौं । तर त्यति गर्दा समेत सरकारले सुनसवाई नभएपछि बाध्य भएर अन्तिम विकल्पको रुपमा यो आमरण अनसन बसेका छौं ।”

कोइरालाले आमरण अनसन सुरु गर्नुभन्दा १२ दिनअघि नै घोषणा गरेर पूँजी बजारमा सुधार हुनुपर्छ भन्दै १९ बुँदे माग अगाडि सारेकोमा अहिले सबै लगानीकर्ताले स्वामित्वबोध गरेको यनले बताए । आफु ५२ लाख सेयर लगानीकर्ताहरुको तर्फबाट पुँजीबजारको सुधार र विस्तारका लागि सरकारलाई बाध्य पार्न भुमिका खेल्ने उनले बताए । उनले भने, “ आमरण अनसन तबसम्म जारी रहन्छ, जबसम्म हाम्रा मागहरु पूरा हुँदैनन् । यदि त्यसमा ढिलाई भयो भने वा आम्रो आमरण अनसनलाई सरकारले बेवास्ता गर्यो भने बीचमै आमरण अनसन सुरु हुँदादेखि नै अरु कार्यक्रमहरु हुने र त्यस्ता कार्यक्रमले स्थितिलाई अर्को मोड दिनपनि सक्छ । त्यसैले यो संवेदनसिलतालाई सरकारले बेलैमा विचार गरोस् हामी यो आह्वान गर्दछौं ।”

कोइरालाको आम्दोलनामा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ, स्वतन्त्र पुँजीबजार संघ, पुँजीबजार फोरम, स्वतन्त्र पुँजीबजार सुधार संघ, लगानीकर्ता दबाब समूह, नेपाल धितोपत्र लगानीकर्ता संघ, लगानीकर्ता संरक्षण मञ्च र नेपाल पुँजीबजार लगानीकर्ता संघले साथ र समर्थन गरेका छन् ।

सेयर लगानीकर्ताहरुले अघि सारेका १९ बुँदे मागहरु यस्ता छन 

१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने ।

२. वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने ।

३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।

४. ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।

५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने ।

६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने ।

७. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने ।

८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने ।

९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने ।

१०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने ।

११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वतस् इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वतस् रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने ।

१२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने ।

१३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने ।

१४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।

१५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड। ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने ।

१६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील विषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागू गर्ने ।

१७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने ।

१८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने ।

१९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ असार २०७९, बुधबार  १० : ४२ बजे