फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमको बक्यौता २२ अर्ब नाघ्यो

0
Shares

इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट विहीबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेको निगमले जनाएको छ ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा, डिजेल प्रतिलिटर २०२ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर १४७ रुपैयाँ ९९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १६८ रुपैयाँ ७० पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर १४७ रुपैयाँ ८९ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ५५१ रुपैयाँ १५ पैसा पुगेको निगमले जनाएको छ ।

आइओसीबाट प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर १७ रुपैयाँ १ पैसा, हवाई हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा प्रतिलिटर ४४ रुपैयाँ ६३ पैसा नाफा रहेको निगमले जनाएको छ ।

नयाँ मूस्य अनुसार पेट्रोलियम पदार्थको बिक्रीबाट आगामी १५ दिनमा मात्रै निगमलाई ९ अर्ब ६३ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । नयाँ मुल्य अनुसार निगमलाई पाक्षिक रुपमा पेट्रोलमा ९५ करोड, डिजेलको बिक्रीबाट २ अर्ब ९१ करोड, हवाई इन्धनमा ६६ लाख तथा एलपी ग्यासको बिक्रीबाट एक अर्ब १४ करोड नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

निगमलाई मट्टितेल र बाह्य हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टितेलको बिक्रीबाट एक करोड ४५ लाख, हवाई (अन्तर्राष्ट्रिय) बाट१७ करोड ८२ लाख नाफा हुनेछ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।

आयल निगमले आइओसीले असार २ गतेसम्म २२ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । निगमले असारमसान्तसम्ममा ५० देखी ६० अर्बसम्म नोक्सनी पुग्ने आँकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ असार २०७९, बिहीबार  १८ : ३३ बजे