बालेनको नीति तथा कार्यक्रमः सजिलै कर

0
Shares

काठमाडौं महानगरपालिकाले आफ्नो कर प्रणाली तथा कर प्रशासनलाई करदातामैत्री र प्रविधिमैत्री पारदर्शी बनाउने नीति लिएको देखिएको छ ।

करको मात्रा र तिर्ने झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै महानगरका मेयर बालेन (बालेन्द्र साह) ले करलाई करदाताको सकसबाट सहजता तर्फ उन्मुख गराउन खोजेका छन् ।

आईतबार सार्वजनिक महानगरको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार अव सवै खाले करदातालाई प्राविधिक सञ्जालमा आवद्ध गर्ने र राजश्व भुक्तानी प्रणाली पनि सोही अनुरुप सहज बनाउने उपाय बालेनले अवलम्बन गर्न खोजेका छन् ।

नीति अनुसार महानगरले अव आफ्ना करदाताका लागि छुटै एपमा अध्यावधिक गर्दैछ । यसकालागि विश्वविद्यालय सँगको सहकार्यमा करदाताको विद्युतीय लगत तयार हुनेछ ।

कर भुक्तानीका लागि महानगरको आफ्नै अनलाईन प्रणाली पनि छ तर त्यसलाई अझै प्रभावकारी बनाउने र सवैखाले करदाताको पहुँचमा यो प्रणालीलाई पनि पु¥याउने लक्ष्य राखिएको छ ।

महानगर क्षेत्रभित्र घरजग्गा र जग्गा बहालकर महानगरको मुख्य आयस्रोत हो तर यो अव्यवस्थित र अवास्तविक समेत भएकाले यसको पूर्णलाभ महानगरले लिन असफल रहँदै आएको छ । तर बालेनको कार्ययोजनामा अव घरजग्गा तथा घर बाहलमा दिने कार्यमा कुनै कम्पनीले मध्यस्तता गर्ने र सो मार्पmत वास्तविक भाडाका आधारमै कर प्राप्त गर्ने उदेश्य लिएको देखिएको छ ।

नीति तथा कार्यक्रममा एकातिर समग्र करदातालाई कर प्रणालीमा स्वैच्छिक कर प्रणालीमा आवद्ध गर्ने प्रर्वद्धनात्मक सोच राख्दै गर्दा अर्कातिर राजश्व छलि रोक्न राजस्वको अनुगमन गर्न बिशेष टोली गठन गरी परिचालन गर्ने घोषणा बालेनको छ । करको दर समेत हेरफेर गर्ने सोचका साथ बालेनले करका दरको पुनरावलोकन गर्न नगर सभाबाट गठित समितिको पुनर्गठन गरी कार्य अगाडी बढाउने र कर छुटलाईसमेत पुनरावलोकन गर्दैछन् ।

महानगरमा व्यवस्थित हुन नसकेको विज्ञापन बोर्ड व्यवसायलाई पनि उनले निश्चित स्थान र आकारमा सिमित गर्ने देखिएको छ । यो व्यवस्थित नहुँदा महानगरमा दुर्घटना समेत हुने गरेको आँकलन हुँदै आएको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कुनै दुर्घटनमा डिजिटल बोर्ड नै कारक भएको किटानी नभए पनि सम्भावय कारण भने हुन सक्ने विज्ञहरुले स्वीकार्दै आएको तथ्य हो । महानगर राजश्व विभागका अनुसार ४२ वटा डिजिटल बोर्डले अनुमति लिएका छन् तर त्यो भन्दा धेरै यस्ता बोर्ड महानगरमा रहेको आँकलन छ । यसको अवस्था बारे महानगरले अध्ययन गरिरहेको पनि छ ।

बालेनको योजनाअनुसार अव बाह्य विज्ञापन गर्ने स्थान यकिन गरी तोकिएको स्थान र साइजमा मात्र बिज्ञापन सामग्री राख्ने ब्यबस्था हुनेछ । महानगरले अव हाल रहेका बिज्ञापन सामग्रीलाई पनि तोकिएको स्थानमा स्थानान्तरण गर्नेछ ।

राजस्व प्रशासनमा कार्य सम्पादनमा आधारित रही प्रोत्साहन प्रणाली लागू गर्ने बताइएको छ । अव महानगरपालिका क्षेत्रभित्र आवासीय प्रयोजनका अपार्टमेन्ट प्रयोगकर्ताको सम्पत्ती करमा पुनरावलोकन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

मेयर बालेन वैदेशिक ऋण प्रति पनि सचेत देखिएका छन् । महानगरपालिकामा रहेको वैदेशिक ऋणको वित्तीय भार न्यून गरी सकेसम्म आगामी आर्थिक बर्षमा महानगरपलिकालाई ऋणमुक्त बनाउने उपाय अबलम्बन गर्ने स्वाधीनतामूखी अवधारणा पनि ल्याएका छन् ।

साना तर संवेदनशील विषयलाई महत्व दिने बताउँदै आएका बालेनले यसपटक यहाँको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रबर्धन गर्ने विषयका स्वदेशी तथा बिदेशी चलचित्र र नाटकका लागि अनुदानसमेत दिने छन् । यसकालगि निश्चित मापदण्ड भने महानगरले बनाउने छ ।

वडा तहमा करदातालाई कर बुझाउन सहज हुने गरी सवै वडामा बैंक क्युआर कोड समेत व्यवस्था गर्ने महानगरको योजना छ । करदाताको गुनासो सुन्न, आवश्यक सूचना दिन र करबारे सहजिकरण गर्न विदाको दिनमा समेत खुला रहने गरी करदाता सहायता कक्ष सञ्चालन गर्ने बालेनको योजना छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार  १३ : २७ बजे