रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, जापान, युरोप लगायतका देशहरुले रुसमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धका कारण रुसी अर्थतन्त्र अहिले सम्मकै ठूलो मात्रामा खुम्चिएको छ भने रुसी मुद्रा रुबल डलरको विरुद्ध बलियो हुँदै गएको छ ।
यो साता रुबल डलरको विरुद्ध सन् २०१८ यताकै उच्च भएको छ जसकारण डाउ जोन्सले गरेको ५६ मुद्राको मार्केट डाटा विश्लेषणमा रुबल दोस्रो उत्कृष्ट प्रतिष्पर्धी भएको हो ।
सन् २०२२ पछि रुबल १६ प्रतिशतले बढेको छ भने रुसले युक्रेनमा आक्रमण गरेपछि इतिहास यताकै कमजोर भएको रुबल १५० प्रतिशतले कमव्याक गर्न सफल भएको छ ।
मुद्रा बलियो हुनुले देशको अर्थतन्त्र पनि बलियो छ भन्ने बुझिन्छ तर रुसमा अर्थतन्त्र कमजोर र मुद्रा बलियो हुन पुगेको छ । यसै सन्दर्भमा राबो बैंकका विदेशी विनिमय प्रमुख जेन फोले भन्छन्, “यस किसिमको अवस्था सिर्जना हुन्छ भन्ने अनुमान गरेका थिएनौँ तर जब सरकारले निजी क्षेत्रको पुँजी नियन्त्रण गर्छ, केही यस्तै अवस्था सिर्जना हुन्छ ।”
रुसबाट इन्धन तथा प्राकृतिक ग्यास आयात गर्ने राष्ट्रहरुलाई रुसले रुबलमा भुक्तानी गर्न आदेश दिएपछि, अन्तराष्ट्रिय बजारमा रुबल कारोबार गर्ने मुद्रामा स्थापित भएको थियो । जसकारण डलरको विरुद्धमा रुबल थप बलियो हुँदै गएको छ । सन् २०२२को मार्च ७ मा रुबल डलरको विरुद्धमा अहिले सम्म कै कमजोर १५८ हुन पुगेको थियो तर जुन २०मा रुबल ५६.५५ हुन पुगेको छ ।
यसैगरी रुसी केन्द्रीय बैंकले औसत ब्याज दर बढाएर २० प्रतिशत पु¥याएको थियो । यसका साथै निजी कम्पनीहरुलाई आफ्नो वैदेशिक मुद्राको ८० प्रतिशत रुबलमा परिवर्तन गर्न आदेश दिएको थियो ।
रुसी सरकारले लिएका यी कदमहरुबाट रुबल बलियाृे भएपछि ब्याजदर घटाएर ११ प्रतिशत पुराएको छ भने निजी कम्पनीहरुलाई वैदेशिक मुद्राको ४० प्रतिशत रुबलमा परिवर्तन गर्न आदेश दिएको छ ।
स्वदेशी मुद्रा बलियो हुँदा सरकारलाई सामग्री आयात गर्न र मूल्यवृद्धि रोक्न सघाउँछ । तर रुसमा लगाइएका प्रतिबन्धका कारण रुसलाई आयात गर्न समस्या परेको छ भने माग अनुसारको आपूर्ति नहुँदा मूल्यवृद्धि दर आकाशिएको छ । खाद्यान्नको मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी गत वर्षको तुलनामा खर्चयोग्य रकममा १.२ प्रतिशतले कमी आएको छ । अर्थशास्त्रीहरुले रुसको अर्थतन्त्र १० प्रतिशतले खुम्चिने अनुमान गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया