लगानीकर्ताका माग सम्बोधनका लागि धितोपत्र बोर्डका अध्यक्ष हमाल अर्थ मन्त्रालयसँग छलफलमा

0
Shares

धितोपत्र बजारको समस्याको समाधान खोज्न नेपाल धितोपत्र बोर्ड नेतृत्वले सकृयता देखाएको छ ।

सोमबार राति नै बोर्ड कार्यालय परिसर बाहिर आमरण अनशन बसिरहेका तिलक कोइरालाको समूहलाई भेटेर छलफल गरेका बोर्ड अध्यक्ष रमेश हमाल अहिले अर्थमन्त्री जनार्दन शर्मासँग मन्त्रालयमै गएर छलफल गरिरहेका छन् । मंगलबार बिहानै बोर्ड अध्यक्ष हमालले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर छलफल गरेका हुन् । छलफल अहिलेपनि जारी छ ।

अर्थमन्त्री शर्मा सहित अर्थसचिव मधुकुमार मरासिनी पनि छलफलमा रहेको बताइएको छ। विदेश भ्रमणबाट आए लगत्तै हमालले कोइरालासँग अनशन स्थलमै पुगेर छलफल गरेका थिए । छलफलका क्रममा हमालले लगानीकर्ताका जायज माग सम्बोधन गर्न आफूले पहल कदमी लिने आश्वासन दिएका थिए । ‘लगानीकर्ताले उठाएका माग र धितोपत्र बोर्डकाे चाहना मिल्दा जुल्दा छन्,’ हमालले भने, ‘आन्दोलनरत साथीहरु सहित अर्थमन्त्रालमै गएर छलफल गर्ने वातावरण म मिलाउँछु ।’

तर अनशनरत कोइरालाले बजार सुधारका लागि उठाएका माग सम्बोधन नभएसम्म अनशन नतोड्ने जवाफ दिए । उनले समस्या समाधानका लागि अर्थसचिवकै नेतृत्वमा कार्यान्वयन समिति बन्नुपर्ने अडान राखेका थिए । कोइराला असार १ देखि आमरण अनशनमा छन् ।

सरकारले यसअघि बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिमा राष्ट्र बैंकका प्रतिनिधि समेत समावेश छन् । समितिलाई मौद्रिक नीति मार्फत बजार सुधारका लागि गरिनुपर्ने पहलका सम्बन्धमा अध्ययन गरेर सुझाव दिन भनिएको छ । आन्दोलनरत लगानीकर्ताले भने समिति बनाउने अध्ययन गर्ने भन्दा पनि निर्णय गरेर आउनुपर्ने अडान राख्दै आएका छन् ।

अनशनरत कोइरालाले कुनै किसिमको छलफलमा सहभागि नहुने बताएपछि दबाबमा परेका बोर्ड अध्यक्ष हमाल समस्याको समाधान खोज्न भन्दै मंगलबार बिहानैदेखि सकृयता देखाएका हुन् ।

जेठ तेस्रो सातादेखि चरणबद्ध आन्दोलनमा उत्रिएका लगानीकर्ताहरु विभिन्न १९ बुदे माग राख्दै अनसन थालेका हुन् । सेयर बजार सुधारका लागि विगतमा धेरै सम्झौता भए पनि कार्यान्वयनमा नआएको भन्दै लगानीकर्ताका विभिन्न संघहरुको सर्मथनसहित कोइरालाले खुमलटारस्थित बोर्ड कार्यालयको गेटमै अनसन बस्दै आएका छन् ।

पुँजी बजार विकासका लागि बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनुपर्ने ब्रोकरलाई टिएमएस सञ्चालन र शाखा विस्तारको अनुमति दिनुपर्ने, १२ करोड रुपैयाँभन्दा धेरैको सेयर धितो ऋणको भुक्तानी असार मसान्तसम्म बढाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार  १२ : २२ बजे