सरकारी वेवास्ताले नेप्से सूचक अघिल्लो बुलभन्दा तल झर्यो, लगानीकर्ताले गुमाए १८ खर्ब बढी सम्पत्ति

0
Shares

सरकारले पूँजी बजारको विकास र विस्तार भन्दा सेयर बजारको लगानीमा कडाइ गर्ने नीति अवलम्बन गर्दा बजार मापक सूचक नेप्से अघिल्लो बुलको बिन्दु भन्दा तल झरेको छ । बिहीबार नेप्से ४५ अङ्कले घटेर १८४८ अङ्कमा झरेको हो ।

अघिल्लो आर्थिक वर्षमा १४ अर्बभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले त्यही पूँजी बजारमा गरिएको लगानीलाई अनुत्पादक क्षेत्रको संज्ञा दिँदै कडाइ गरेपछि दैनिक २१ अर्बभन्दा बढी सेयर कारोबार हुँदै आएको बजार १ अर्ब हाराहारीमा खुम्चिएको छ । यसले सरकारलाई प्राप्त हुने राजश्व एकातिर घटेको छ भने अर्कोतिर पूँजी बजारको विकास र विस्तार समेत अवरुद्ध भएको छ ।

नियामक निकायको उच्च तहमा बसेका अधिकारीबाट पूँजी बजारलाई सट्टेवाजी गर्ने स्थानको रुपमा परिभाषित गर्ने र बजार सुधारमा भएको सरकारी बेवास्ताका कारण बजार निरन्तर ओरालो लाग्दै आएको हो ।

विसं २०७८ भदौ २ गते ३१९८ बिन्दुमा रहेको बजार सूचक २०७९ असार ९ गते आइपुग्दा ४२.२१ प्रतिशत अर्थात १ हजार ३५० अङ्कले घटेको छ । यसबीचमा लगानीकर्ताहरूले सेयर बजारबाट १८ खर्ब ३३ अर्ब ३२ करोड रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । सेयर बजारको इतिहासमा नै ४४ खर्ब ६८ अर्ब ५० करोड रुपैयाँसम्म पुगेको कुल बजार पूँजीकरण असार ९ गते आइपुग्दा २६ खर्ब ३५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।

नेप्सेका अनुसार बिहीबार नेप्से ४५.२५ अङ्कले घटेर १८४८.२८ बिन्दुमा झरेको छ । यसदिन कुल २३७ कम्पनीका ५० लाख ८ हजार ७७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँमा खरीद बिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबारमा आएका सबै उप समुहगत सूचक ओरालो लागेको बजारमा जलविद्युत सूचकमा सर्वाधिक ४.११ प्रतिशत गिरावट आएको छ । विकास बैंक, फाइनान्स, र लगानी सूचक पनि साढे ३ प्रतिशतभन्दा बढीले घटेका छन् । ब्यापार, होटल, निर्जीवन बीमा, उत्पादन, अन्य र लघुवित्तको सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज कुमारी बैंकको सबैभन्दा धेरै ९ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लक्ष्मी बैंकको ६ करोड ३६ लाख र नबिल बैंकको ५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, एसीसी बैंक, अरुण काबेली पावर र नेपाल लाइफ इन्स्योरेन्सको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको नेपाल लाइफको २ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबारको बजारमा आँधिखोला लघुवित्त र सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन आँधिखोला लघुवित्तको ८७.३० रुपैयाँ बढेर ९६०.७० रुपैयाँ र सिवाईसी लघुवित्तको ५५ रुपैयाँ बढेर ६०५.३० रुपैयाँ पुगेको छ । एनआईसी एशिया ब्यालेस्ड फन्ड ३.९४, वीन लघुवित्त २.७०गोर्खाज फाइनान्सको सेयर मूल्य १.९७ प्रतिशतले बढेको छ ।

आजको बजारबाट शिवश्री हाइड्रोपावर कम्पनीको सेयर लगानीकर्ताले सर्वाधिक ९.५६ प्रतिशतले गुमाएका छन् । कम्पनीको सेयर मूल्य २४ रुपैयाँ घटेर २२७ मा झरेको छ । यस्तै लिवर्टी इनर्जीको ९.२१, सामलिङ्ग पावर ८.५०, एनआईबिएल प्रगति फन्ड ८.३२ र जोशी हाइड्रोपावरको सेयरमूल्य ८.०६ प्रतिशतका दरले घटेको छ । यसदिन छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर, रिभर फल्स पावर, मध्यभोटेकोशी जलविद्युत र इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ताले आजको बजारमा ७ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असार २०७९, बिहीबार  १६ : २१ बजे