दाङका दशवटै स्थानीय तहले शुक्रबार आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका छन् ।
जिल्लाका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका सहित ७ गाउँपालिकाले आगामी आवको नीति कार्यक्रम र बजेट ल्याएका हुन् ।
विशेष गरेर पालिकाले स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार निर्माणमा बजेटलाई प्राथमिकता दिएका छन् । लमही नगरपालिकाले आव २०७९/८० का लागि १ अर्ब ३९ करोड १ लाख १ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले उक्त बजेट शुक्रबार नगरसभामा प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाले सङ्घीय सरकारको समानीकरण मार्फत १५ करोड ९० लाख, सङ्घीय सरकार मार्फत राजस्व बाँडफाँटबाट १३ करोड ५१ लाख, सङ्घीय सरकार समपूरक अनुदान २ करोड, विशेष अनुदान ३ करोड, सशर्त अनुदान ३८ करोड ५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
यसैगरी प्रदेश सरकार समानीकरण मार्फत ९ लाख २३ हजार, प्रदेश सरकार सवारीसाधन राजस्व बाँडफाँट २ करोड ८६ लाख ७७ हजार, सशर्त अनुदान १३ करोड, समपूरक अनुदान १९ करोड ९ लाख र प्रदेश सरकार विशेष अनुमान १९ करोड ९ लाखको रहेको छ । आन्तरिक स्रोततर्फ ३३ करोड ८० लाख बैंक रुपैयाँ मौज्दात, आन्तरिक स्रोत २५ करोड ७ लाख २५ हजार ९६८रुपैयाँ र प्रदेश सरकार रोयल्टी मार्फत ४४ हजार ३२ रूपैयाँबाट बेहोरिने भएको छ ।
चालु आवको तुलनामा लमही नगरपालिकामा आउँदो आवमा २७ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । अघिल्लो आवमा लमही नगरपालिकाले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
त्यसैगरी राजपुर गाउँपालिकाले आगामी आव २०७९/८० का लागि ५३ करोड २० लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका थिए ।
राजपुर गाउँपालिकाको नाम र पालिकाको केन्द्र टुङ्गो लागेको छ । गाउँसभाको बैठकले पालिकाको केन्द्र वडा नं ४ दुलैयामा तोक्ने र नाम राजपुर बेला गाउँपालिका राख्ने निर्णय भएको अध्यक्ष शरद् बुढाथोकीले जानकारी दिए । साविको राजपुर र बेला गाविस गाभिएर पालिका बनेको र पालिकाको केन्द्र सबैलाई पायकपर्ने स्थानमा तोकिएको र नाम राजपुरबेला गाउँपालिका राखिएको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले बताए ।
त्यसैगरी बबई गाउँपालिकाले आगामी आवका लागि ५० करोड ६५ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले आउँदो आवका लागि बजेट प्रस्तुत गरेकी हुन् । जसमा ७ करोड ८६ लाख ५० हजार रुपैयाँ चालु खर्च, २० करोड ४२ लाख ९३ हजार रुपैयाँ पँुजीगत खर्च छुट्याइएको छ । सशर्त अनुदानतर्फ १९ करोड २६ लाख, विशेष अनुदानतर्फ एक करोड ६० लाख, समपूरक अनुदानतर्फ एक करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
त्यस्तै बङ्गलाचुली गाउँपालिकाले आव २०७९/८० का लागि ६३ करोड ५५ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो सभामा पालिका उपाध्यक्ष भक्तबहादुर जिसीले सो बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तावित बजेटमा पुँजीगतमा २८ करोड ६१ लाख ७९ हजार अर्थात् ४६ प्रतिशत छ । यसैगरेर चालुतर्फ ३४ करोड ९३ लाख ४१ हजार रुपैयाँ अर्थात् ५४ प्रतिशत छ । पालिकाले शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, लैङ्गीक समानता तथा सामाजिक सशक्तीकरण, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन र आर्थिक विकासका क्षेत्रलाई प्राथमिकीकरण गरेर बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष जिसीले बताए ।
सङ्घीय सरकारको अनुदान ४५ करोड ८४ लाख, राजस्व बाँडफाँडबाट १० करोड ९७ लाख, प्रदेश सरकारको अनुदान तीन करोड ४७ लाख, राजस्व बाँडफाँटबाट ७७ लाख, आन्तरिक राजस्वबाट एक करोड ५० लाख र गत वर्षको मौज्दात एक करोड रुपैयाँ छ ।
त्यस्तै, शान्तिनगर गाउँपालिकाले ५० करोड ९७ लाख ४८ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले आगामी आवका लागि बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले चालुतर्फ ३१ करोड ६६ लाख ४८ हजार, पुँजीगततर्फ १९ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उता गढवा गाउँपालिकाले आउँदो आव २०७९/८० का लागि ६३ करोड ४५ लाख १० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । गढवा गाउँपालिकाको एघारौँ गाउँसभामा उपाध्यक्ष शारदा चौधरीले बजेट प्रस्तुत गरेकी हुन् । पालिकाले चालुतर्फ ३१ करोड ६५ लाख ७६ हजार र पुँजीगततर्फ ३१ करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
यता, दङ्गीशरण गाउँपालिकाले आव २०७९/८० का लागि ४६ करोड ९४ लाख ३९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले बजेट प्रस्तुत गरेकी हुन् । यसैबीच, राप्ती गाउँपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सहमतिका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि आव २०७९/८० को ६१ करोड ५४ लाख ८४ हजार बराबरको बजेट वडा नं ४ का वडाध्यक्ष वीरबहादुर चौधरीले घोषणा गरेका हुन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया