देशभित्र धान उत्पादन विस्तार गर्ने र विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गर्ने भन्दै सरकारले असार १५ गतेका दिनलाई धान दिवसकै रुपमा पनि सरकारले मनाउँदै आएको छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ।
मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । तर हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ । खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ ।
भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विशेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ । कृषि उत्पादन विस्तारका अनेकन प्रयासका बावजुत् नेपालको धान चामल आयात भने चुलिँदै गएको हो । विभागले सार्वजनिक गरेको विवरणमा जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा मुलुकबाट अर्बौँ रकम बाहिरिएको तथ्याङ्क छ ।
मुलुकमा कृषि उपजको आयात बढ्दो देखिएको छ । खाद्यान्न आयातमा मुलुकको अर्बौँ रकम बाहिरिरहेको तथ्याङ्क सार्वजनिक भएको हो । विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म मात्रै ४५ अर्ब २९ करोड ७५ हजार रुपैयाँ बराबरको धान चामल नेपालले आयात गरेको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २८ अर्बको ५० करोड मूल्यको ५ लाख ३८ हजार मेट्रिक टन चामल आयात भएको छ । भारतबाट मात्रै सरकारले ४९ करोड केजी चामल आयात गरेको छ । यस अवधिमा ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयातबाट सरकारले दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । अहिले नेपालमा भारत, चीन, थाईल्याण्ड, अमेरिका, जापान, इटली, बंगलादेश, भियतनाम लगायतका देशबाट चामल आयात हुने गरेको छ । नेपालीले चीन, ताईबान, थाईल्याण्ड, कोरियाजस्ता मुलुकबाट आउने ब्राउन राईसको समेत उच्च खपत गर्ने गरेको देखिएको छ ।
चालु आवको एघार महिनामा १६ अर्ब ८० करोड रुपैयाँ मूल्यको ५ लाख ४५ हजार मेट्रिक टन धान आयात भएको देखिएको छ । ५४ करोड केजी धान आयातबाट सरकारले ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै धानको बीउमात्रै ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ ।
नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ ।
कृषि क्षेत्रको उत्पादकत्व बढाउन भन्दै सरकारले विभिन्न अनुदानका कार्यक्रम ल्याएपनि ती सबैको परिणाम सकारात्मक नुहँदा आवश्यकताको तुलनामा उत्पादन विस्तार हुन नसकेको हो । यसबाहेक गत वर्ष वर्षातका कारण तराई क्षेत्रमा धान डुबानमा परेर नष्ट भएको थियो । धान रोप्ने बेला देशव्यापी रुपमा रसायनिक मल अभाव चर्कने नियतिले पनि स्वदेशी उत्पादन घट्दो छ । जनसंख्या वृद्धिको अनुपातमा धान उत्पादन विस्तार हुन नसक्दा चुलिँदो आयातको मार खेप्नु परेको हो । विज्ञहरुका अनुसार नेपालमा ५० वर्षमा औषत धान उत्पादकत्व वृद्धि दर १.५ प्रतिशतमात्रै छ तर जनसंख्या वृदिदर भने २.३ प्रतिशत रहँदै आएको छ ।
अन्य अन्नमा भर पर्ने अवस्थाबाट चामल माथिको निर्भरता पनि बढेकाले चामलको माग अझै बढी रहेको छ । नेपालमा प्रतिव्यक्ति १३७ किलो वार्षिक खपत हुन्छ जुन उच्च मानिन्छ । कुल अन्न खपतमा पनि चामलको हिस्सा बढ्दो रहँदै जाँदा अहिले यसको हिस्सा ६७ प्रतिशत रहेको छ । यस अवधिमा भारतबाट २२ अर्ब ८ करोड ८९ लाखको चामल र १६ अर्ब ७६ करोडको धान आयात भएको छ । उच्च गु्णस्तर देखि मध्यमस्तरको चामल मात्र नभई पछिल्लो समय कनिका समेत आयात हुने गरेको छ ।
चालु आर्थिक वर्षमा १ अर्ब ३२ करोड रुपैयाँ बराबरको त कनिका नै आयात भएको भन्सार विभागको तथ्याङ्क छ । कनिकाको प्रयोग मदिरा उद्योगमा बढी खपत हुन्छ । भारतबाट चिउरा र भूजा समेत आयात हुन्छ । चालु आवको ११ महिनामा ५० करोड रुपैयाँकै चिउरा आयात भएको छ । धान चामल मात्रै हैन यस अवधिमा अन्य खाद्यान्नको आयात पनि उस्तै बढेको छ । चालु आवको जेठ मसान्तसम्म १६ अर्ब बढीको मकै तथा ५ अर्ब ६३ करोड बढीको गहुँ आयात भएको छ । कोदो र फापर पनि आयात बढ्दो देखिएको छ ।
विभागको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा ५ अर्ब ६३ करोड ९ लाख ४५ हजार बराबरको १७ करोड ५ लाख १७ हजार ९७३ केजी गहुँ आयात भएको छ । यस्तै १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार रुपैयाँ बराबरको ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । सोही अवधिमा १ अर्ब ८ करोड १० लाख २५ हजार मुल्यको १ करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ ।
यस्तै यस अवधिमा तीन करोड ८२ लाख ६६ हजार मूल्यमा ११ लाख ४४ हजार ५४२ केजी कोदो तथा ३ करोड ८२ लाख ६६ हजार मूल्य बराबरको ११ लाख ४४ हजार ५४२ केजी कोदोको बीउ र १८ लाख २७ हजार मूल्यको २७ हजार १२९ केजी फापर आयात भएको छ ।
सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो । किसानको आत्मसम्मान बढाउने कार्यक्रमसमेत बजेटमा स्पष्ट व्यवस्था गरिएको छ तर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने विषय केवल नारामै सीमित छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया