रिलायबल लाइफ इन्स्योरेन्सका सेयरधनीलाई शतप्रतिशत पुँजी थप्न आग्रह

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विद्यमान संस्थापक सेयरधनीहरुलाई शतप्रतिशत पुँजी थप गर्न आग्रह गरेको छ ।

कम्पनीको जेठ २५ गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक सेयरधनीहरूबाट १ बराबर १ अनुपातका दरले थप लगानी गर्ने निर्णय गरेको थियो । सोही अनुसार कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुलाई आफ्नो नाममा रहेको सेयर बराबरको थप रकम लगानी गर्न भनेको हो ।

कम्पनीले संस्थापक सेयरधनीहरुले ग्लोबल आइएमई बैंक, कान्तिपथ, कुमारी बैंक, पुतलीसडक, सिद्धार्थ बैंक न्यूरोड र नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटीमा रहेको बैंक खातामा रकम जम्मा गर्नसक्ने जनाएका छन् 

इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई भदौ ६ गते सम्म कम्पनीको बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरेको हाे ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिइसकेको छ । सोही बमोजिम रिलायबल लाइफले मर्जरमा नगई ५ अर्ब चुक्ता पुँजी पुर्याउने तयारी अगाडि बढाएको हो ।

गत जेठ २५ गते बसेको कम्पनीको साधारण सभामा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित भएको थियाे । सोही बमोजिम रिलायबलले संस्थापक सेयरधनीमार्फत १ बराबर १ को अनुपातमा रकम सङ्कलन थप्न संस्थापकहरुलाई आग्रह गरेको हो । संस्थापक सेयरधनीहरुबाट थप लगानी रकम माग गरी पुँजी वृद्धि गर्न इन्स्योरेन्सले बीमा समितिबाट अनुमति समेत पाइसकेको छ । त्यस्तै, कम्पनीले सभाबाट हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव समेत अनुमोदन गरेको थियो ।

समितिको निर्देशन बमोजिम पुँजी पुर्‍याउन रिलायबललाई शतप्रतिशत रकम चुक्ता पुँजी संस्थापकहरुबाट उठाएपछि पनि थप २ अर्ब २० करोड पुँजी आवश्यक पर्नेछ । यो पुँजी कम्पनीले स्वयंले आईपीओ, हकप्रद र बोनस सेयरबाट जोहो गर्ने बोर्डको तयारी छ । कम्पनीले अन्य संस्थासँग मर्जरमा नजाने निर्णय गरिसकेको छ ।

कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरी २१२ रुपैयाँमा एक अर्ब २७ करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कुनै पनि प्राथमिक सेयर निष्कासन भने गरेको छैन । कम्पनीले १०० रुपैयाँ अंकित दरमा आइपीओ जारी गर्ने योजना बजाएको थियो । करिब एक वर्ष बितिसक्दा पनि प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छैन । बीमा समितिकाृ निर्देशन पछि कम्पनीले आईपीओको योजना पर सार्दा हाल पनि कम्पनीको आईपीओ निष्काशन धितोपत्र बोर्डको पापलाइनमा छ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुले थप शतप्रतिशत पूँजी थपेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । संस्थापक सेयरधनीहरुबाट शतप्रतिशत पुँजी थप भैसकेपछि कम्पनीले सर्वसाधारणमा जारी गर्ने हिस्सा पनि ६० लाखबाट  १ कराेड २० लाख पुग्नेछ । यसाे हुँदा आईपीओबाट १ अर्ब २० करोड रूपैयाँ बराबर संकलन हुनेछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । आईपीओपछि कम्पनीले १ अर्बकाे हकप्रद वा बोनस सेयर वितरण गरेर बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउने कम्पनीकाे याेजना छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार  १९ : ४० बजे