अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी तत्कालीन उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार कार्कीसँगै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका, वडा नम्बर १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको आरोपमा उनीहरुलाई भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो। इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे पनि उक्त कार्यमा संलग्न पाइएको अख्तियारले जनाएको छ ।
गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेश गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेर स्वीकृत गरी भुक्तानीसमेत दिइएको बताइएको छ । उनीहरुले १० लाख ५५ हजार ९७९ हानी पुर्याएको भन्दै बिगोसहित कैद र बिगो बमोजिम जरिवाना गरी असुलउपर गर्न माग गरिएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया