अप्पर सोलुको आईपीओ बाँडफाँड, कुल सदर आवेदकको साढे १२ प्रतिशतले मात्र पाए सेयर

0
Shares

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ बाँडफाँड भएको हो । 

बाँडफाँडमा कुल सदर आवेदकको १२.६० प्रतिशतले आईपीओ हात पारेका छन् भने ८७.४० प्रतिशतको हात खाली भएको छ । १४ लाख ४५ हजार १९४ वटा आवेदन सदर भएकोमा १ लाख ८२ हजार ४७ जनाले आईपीओ प्राप्त गरेका हुन् । सदर आवेदकमध्ये १२ लाख ६३ हजार १४७ जनाको हात खाली भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १ लाख ८२ हजार ४७ जना आवेदकलाई १० कित्ताका दरले १४ लाख ८० हजार ४७० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाएका २० कित्ताभन्दा बढी आवेदन गर्ने आवेदकलाई पुनः गोलाप्रथाबाट पाँच ५ जनालाई १-१ कित्ताका दरले बाँडफाँड गरिएको छ । यस आधारमा १ लाख ८२ हजार ४२ जनाले १० कित्ता र पाँच जनाले ११ कित्ता सेयर पाएका छन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको सेयर खरिदका लागि कुल १४ लाख ४६ हजार ९८५ वटा संख्याबाट १ करोड ६१ लाख ८६ हजार ५५० कित्ताको माग परेको थियो । जसमध्ये १४ लाख ४५ हजार १९४ वटा संख्याबाट परेको १ करोड ६१ लाख ६० हजार ३८० कित्ताको आवेदन सदर भएको थियो । तथा स्थानीयबाट आवेदन गरी पुनः सर्वसाधारणको सेयरका लागि आवेदन दिएका र अन्य दोहोरोबाट परेको १ हजार ७९१ वटा संख्याबाट परेको १६ हजार १७० कित्ताको आवेदन रद्द भएको छ ।

सर्वसाधारणबाट माग गरिएको यो संख्या मागको तुलनामा ८.८९ गुणा बढी हो ।कम्पनीले असार २० गतेदेखि कुल १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । निष्काशित कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो । कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरी सर्वसाधारणबाट लागि १८ लाख २० हजार ४७५ कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३.५० मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७९, बिहीबार  १० : ५१ बजे